शुक्रबार, कार्तिक ७ गते २०८३

नेपाल पछि परेको किन ?

आश्विन २५, २०७९ मंगलबार
नेपाल पछि परेको किन ?

याे बर्तमानकाे सबैभन्दा ज्वलन्त र गम्भीर प्रश्न हाे कि - नेपाल पछि परेकाे किन ? । यसकाे सही उत्तर बिना नेपाल एक पाइला पनि सही दिशामा अघि बढ्न सक्तैन । हुन त नेपालमा देश र जनतालाई भ्रमित तुल्याइराख्ने र अल्मल्याइराख्ने यी दुइ गलत मान्यताहरुको चाैतर्फी चल्तीफिर्ती छ । निरन्तर जनतलाई रणभुल्लमा पार्ने यस्तै मान्यताका  खेलाडीहरुलाई नै हिजाेदेखि आजसम्म सफल राजनीतिका सम्वाहक र नेतृत्वकर्ता मानिन्छन् र मानिदै आएका छन् । यस सन्दर्भमा देश र जनताका राष्ट्रिय र ज्वलन्त मूल मुद्दाबाट जनता र देशको ध्यान अन्यत्र मोड्न जतिसक्यो त्यत्ति बढी सफल भएको ठानिन्छ । वास्तवमा यसै गलत परम्परा र परिपाटीले गर्दा नै नेपाल पछि पर्दै आएकाे हो । नत्र बिश्वमा जतिबेला नेपाल अग्रगतिमा थियो त्यस आधारमा बिश्वलाई र नेपाललाई  हेर्ने र केलाउने हो भने आज यूरोप, अमेरिकाभन्दा नेपाल अगाडि हुनु पर्ने हो । बिचार, दर्शन, कला,सीप, मेहनत लगनशीलतालाई हेर्ने र बिश्लेषण गर्ने हो भने त्यो प्रष्ट हुन्छ ।

बुद्ध दर्शनका प्रणेता गौतम बुद्धको समयलाई हेरौ र उनको बिचारको उच्चाईलाई केलाऔं । बुद्ध दर्शन बिश्वका बिभिन्न देशमा बन्दूकको बलमा बाइबल फैलिए जस्तो गरी फैलिएको होइन । तर त्यसपछि त्याे दर्शनकाे पनि सीमित सत्ता स्वार्थका लागि दुरूपयाेग हुन थाल्याे । आज हामी किराँत,  चिच्छबी र मल्लकालीन कला कौशल समृद्धीकाे कारणले नाक ठड्याइरहेका छाैं । त्यतिबेलाका कला काैशल नेपालको साक्षी छन् । तर त्यसपछि केन्द्रिकृत एकात्मक सामन्ती युगको शुरू भएर पनि किन राष्ट्रिय जागरण आउन सकेन र हामी अन्धकारमा फँस्दै गयाैं त्यसपछि यता चल्न शुरू गरेकाे अँध्यारोकाे अबशेष  अहिलेसम्म पनि हट्न सकेको छैन । सामन्तबादको एउटा नीति नै के हो भने जनतालाई अज्ञानता र अन्धकारमा राख र निष्कण्टक राज्य गर । त्यही परम्परा अहिलेसम्म पनि हाबी छ । भाग्यलाई सराप्ने, पूर्ब जन्म, पुनर्जन्मको अध्यारो सुरुङ्गमा पस्ने र निस्कनै नसक्ने स्थति पैदा गरेर लामो समयसम्म अल्मल्याउने क्रम उपक्रम चल्यो चिलरहेकाे छ ।

nepal3.jpg

यद्यपि बिश्वमा आएको जागरणको लहरले नेपालमा पनि सतही परिवर्तन हुँदै आयो । तर  उत्पादनका साधन र उत्पादन सम्वन्धमा कुनै उल्लेख्य परिवर्तन नआए पनि उपरी ढाँचामा निकै ठूल्ठूला परिवर्तन आए । बिज्ञान र प्रबिधिको बिश्वब्यापी फैलदो महासञ्जालमा पनि नेपाल प¥यो । तर ती कुरा पनि मूलतः यथास्थितिलाई कायम राख्ने तथा भ्रमकै खेती गर्ने, भ्रष्टाचार फैलाउने र एक किसिमको भय पैदा गर्ने दिशामा नै ती प्रयुक्त भए र भइरहेका छन् । त्यसले गर्दा जैबिक बिबिधता, जमिन, जलश्रोत, जडीबुटी, जंगलको प्राचुर्यता र अनेक अपूर्ब सम्भावना भए पनि तिनको सदुपयोग हुन सकेन,सकेकाे छैन । त्यसो हुुनुमा पुरातन राज्य संरचना, प्रशासन र तदनुरुपकै नीति नै मूल कारण हो । यसलाई समूल नष्ट नगरेसम्म देशको बिकासले सही दिशा, गति पाउन र सम्बृद्धि फेरि पनि हासिल गर्न सक्तैन । यो सीमित दायरामा सीमित र कुण्ठित भएर रहन्छ । अहिलेसम्मको अनुभवको निचोड यही नै हो । त्यसैले न लोकतन्त्र मौलाउँछ न परिवर्तनले जनताको प्रतिनिधित्व गर्दछ । केही सीमित टाठाबाठा अभिजात बर्गकै यथास्थितिबादी बर्चश्व सर्बत्र ब्याप्त हुन्छ । २००७ देखियताका राजनीतिक परिबर्तन पछि अहिलेसम्म पनि यस्तै  हुँदै आएको छ । यस स्थितिबाट देश र जनतालाई मुक्त गर्नु नै सही दिशा र गन्तब्यकाे बिन्दू  पक्रिनु हाे ।