शनिबार, आश्विन १७ गते २०८३

पहिराेले पुरिदा र खाेलाले बगाउँदा कालीकाेटमा २२ जना बेपत्ता

आश्विन २४, २०७९ सोमबार
पहिराेले पुरिदा र खाेलाले बगाउँदा कालीकाेटमा २२ जना बेपत्ता

कालीकोट ।पहिरोमा परेर कालीकोटमा एक जना प्रहरी जवानसहित २२ जना बेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामी घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपत्ता भएका हुन् भने  प्रहरी जवान चाँहीं खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

नगरपालिकाका एक हेमराज शाहीको निधनपछि तिला नदीमा अन्तिम दाहसंस्कारका लागि गएका एकै गाउँका १३ जनालाई पहिरोले छोपेको स्थानीयलाई उद्धृत गदै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालका अनुसार प्रहरी घटनास्थलमा पुग्न नसकेकाले यकिन भन्न नसकिएको तर स्थानीयले १३ जना घर नफर्केकाले सबै बेपत्ता भएको जानकारी आएको बताए ।
यस्तै, आइतबार बिहान १० बजे तिलागुफा नगरपालिका वडा नं ७ का धुर्वराज बिष्टको घर पहिरो पुरिँदा उनीसहित श्रीमती, छोरा बुहारी र छोरी गरी पाँच जना बेपता भएका छन् ।

बेपता हुनेहरुमा धुर्वराज बिष्ट, उनकी श्रीमती वर्ष ३५ की ममता बिष्ट, १५ वर्षका छोरा भरत बिष्ट, १३ वर्षीया छोरा कृपेश बिष्ट र ११ वर्षीया छोरी ज्यानी बिष्ट छन् ।यस्तै, वडा नं ६ को भैँसीगौडामा जोरा सिहं शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालकला शाही बेपत्ता भएकी छिन् ।

सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मा वर्ष १४ का केवल केसी र पचालझरना वडा नं ७ का वर्ष ४७ पुरीलाल बोहोरा पनि बेपत्ता भएका छन् । पानी नरोकिएका कारणले प्रहरी घटनास्थलमा जान नसकेको र आज हल्का पानी रोकिएकाले दुवै तर्फबाट प्रहरी परिचालन गरिएको भए पनि घटनास्थल पुग्न अझै नसकेको बताए ।

यस्तै, जुम्ला घर बिदावाट फर्किँदै गरेका प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा बगेर बेपत्ता भएका छन् । दशैँ मनाउन घर बिदा गएका रावतसहित तीन जना प्रहरी पैदल जुम्लाबाट सुर्खेततर्फ फर्किँदै गरेका र खाँडाचक्र नगरपालिका वडा नं ८ को एक खोला तर्ने क्रममा बेपत्ता भएका हुन् ।

यस्तै जिल्ला सदरमुकाम मान्म बजारका २५ घर पहिरोको जोखिममा छन् भने रास्कोट नगरपालिका वडा नं ३ को साँगाटिया गाउँका १५ घर परिवार विस्थापित भएका छन् ।