
सीता सुबेदी
आज बहिनी आङ दावाले निम्तो गरिन् । शेर्पाको दशैं मान्न । आरूबारी सिमलटार गुम्बामा पुगे । निकै रमाइलो, शान्त र सौम्य लाग्यो ।
दशैंकाे आज नवमीको दिन, कतिले मार हानेर, कतिले तास खेलेर, कतिले मासुभात खाएर, नाचगान गरेर, घुमफिर गरेर रमाइलो गर्नु भो होला तर शेर्पा समुदायले सदियौंदेखी मनाउँदै आएको फरक किसिमको छुट्टै दशैंमा सरिक हुँदाको आजको दिन अर्कै आनन्द महसूस भयो। हामी दुवैजना मार्क्सवादमा बिश्वास गर्ने तर यस्तो संस्कारलाई धार्मिक मात्रै नभई फरक ढङ्गको सोच सुनेर नतमस्तक भयाैं।
आङ दावा कमरेडको भनाई अनुसार धार्मिक मान्यता र जनबिश्वास छुट्टै भएपनी कम्तीमा यसरी ठाउँ ठाउँका गुम्बाहरुमा दर्जनौं र सयौंले यसरी ब्रत बस्दा चाड मान्ने वा मासु खानेहरुको लागि समेत सहज आपूर्ति र सर्व सुलभ हुन वा बजार सन्तुलन गर्न समेत यो परम्पराले मद्दत पुग्ने गरेको ब्यबहारिक अनुभव बताउनु हुन्छ। जो बैज्ञानिक नै लाग्यो। देशभरका गरि हजारौंले यसो गर्दारहेछन।

संसारभर, सालभर र विशेषत: चाडको नाममा बली चडाएका पशुहरुको मुक्ति र उनीहरुको नाममा गरिने यस्ता पूजा गाउँघरदेखि राजधानीको केहि गुम्बाहरुमा अद्यावधि चलिरहेको रहेछ। तर कहिँ केहि प्रचार भएको देखिदैन। यस्तै झ्याल्सा छोक्पाको नामले चिनिने, मिन्ड्रोललिङ, बौद्धमा आज पुग्दा बाहिर सुनसान देखियो। तर सेतो कपडाले बेरिएको त्यो हल भित्र फूलैफूलले सजाएको स्थान र किनारमा झलमल्ल दियो बत्ति, बीचमा युवा देखि बृद्धअवस्थाका गरि ६०-७० जना निर्जल व्रत बस्नुभएको र दान गर्न आउने बाहिरी भक्तजनहरु देखें।
फूलपातीकै दिन शुरु भएको विशेष पूजा हिजो मध्याह्नसम्म एक छाक शाकाहारी भोजन गर्ने र भोलि बिहानसम्म निर्जल बसेर पाठ गर्ने अनि बीचबीचमा सबैजना उभिएर १०८ पटक सास्टाङ्ग दण्डबत गर्ने र रातभर माने जप गर्ने गर्दोरहेछन्। आयोजकका अनुसार मध्यरातसम्म मौन रहने, सँगैको साथीलाई पनि ईशारासम्म गर्न नपाईने गरि अनुशासनमा बस्नु पर्ने मौन सहितको निर्जल व्रत बस्ने ब्रतालुहरु मध्ये श्रद्धाले सहभागी हुन चाहाने तर उमेर र स्वस्थले साथ नदिनेहरुको लागि अलि सहज र लचिलो नियममा बस्न शुरुकै प्रतिस्ठान चरणमा छुट्टै ब्यबस्था गरिएको हुँदोरहेछ। त्यस्तै म भित्र- बाहिर, ओहोरदोहोर गर्दा कसैले मलाई कुन फरक जातको या अर्कै धर्मको भनेर केहि रोकटोक भएन। त्यसैले बौद्ध धर्म र मार्क्सबाद करीब करीब उस्तै लाग्यो। साच्चै आनन्दित भएँ। निम्तोको लागि धन्यवाद आङ दावा बहिनी! दशैंको शुभकामना !