काठमाडौं । चाडबाडकाे बेला प्रायः सधै यात्रुले जाममा घण्टाैं राेकिनु पर्ने सकस ब्यहाेर्नु पर्ने स्थिति छ । अहिले दशैँका लागि गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाडौंसँग जोडिएको देशकाे मूख्य नाका नागढुंगा नौबिसे सडकखण्डमा केही दिन यता लामो जाम हुने गर्दै गरेकाे देखिन्छ ।
यस क्रममा अाज पनि यो सडकखण्डमा बिहानैदेखि गाडीको लामो जाम छ । नागढुंगादेखि सुरुङमार्गसम्म नै जाम रहेको त्यस क्षेत्रमा काम गर्ने प्रहरीले जनाएको छ । हिजो र अस्ति पनि यो सडकखण्डमा निकै लामो जाम थियो ।

चाड पर्बकाे बेला गाडीहरूकाे संख्या बढेसँगै जाम बढेको बताइन्छ । गाउँ घरका लागि हिँडेकाहरु घण्टौंसम्म जाममा बस्न बाध्य छन् । काठमाण्डौसँगै जोडिएको अर्को मुख्य नाका कोटेश्वरमा पनि निकै ठूलाे चापमा गाडी चलिरहेका छन् ।
दशैँको घटस्थापनादेखि अहिलेसम्म ६ लाख भन्दा धेरै यात्रीहरू काठमाडौं उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् । याे क्रम अझै जारी रहने देखिएकाे छ ।