शनिबार, आश्विन १७ गते २०८३

कोरोना र अन्य कारणले रोकिएका कण्टेनरहरु चीनबाट नेपाल भित्रिए 

आश्विन १०, २०७९ सोमबार
कोरोना र अन्य कारणले रोकिएका कण्टेनरहरु चीनबाट नेपाल भित्रिए 

(फोटो : फइल)

काठमाडौ । नेपालको उत्तरी नाका चीनबाट नेपाल भित्रिने कन्टेनरहरूको सङ्ख्या बढ्दै गएको छ । लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट मात्र १५८ वटा कन्टेनरहरू नेपाल भित्रिएका छन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताएका छन् । उनका अनुसार १५८ वटा कन्टेनरहरूमध्ये १२९ वटा तयारी पोसाक तथा कमर्सियल सामग्री बोकेका कन्टेनरहरू रहेका छन् ।

यसरी नै अन्य ३५ वटा जलविद्युत तथा सिमेन्टजन्य बस्तु बोकेका कन्टेनरहरू रहेका छन् भने अन्य चार वटा ओखर बोकेका कन्टेनरहरू रहेको भण्डारीले बताएका छन् । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीलाई छिटोभन्दा छिटो काठमाडौं पठाउन भन्सार चके जाँच द्रुतरुपमा अघि बडिरहेको पनि प्रमुख भण्डारीले बताएका छन्  । 

‘रसुवागढी नाकाबाट भित्रने कन्टेनरहरूमध्ये तयारी पोसाक बोकेका धेरै कन्टेनरहरू रहेका छन् । भित्रिएका सबै कन्टेनरलाई भन्सार प्रक्रिया पूरागरी काठमाडौं पठाउने तयारी गरेका छौँ ।’ भण्डारीले भनेका छन् 

तर नेपालबाट  चीनतर्फको निर्यात भने शून्य छ । चीनले शून्य–कोभिड नीति लिएकाका कारण  निर्यातमा समस्या भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।

भन्सार नाकामा चिनियाँ पक्षले केही सुरक्षाकर्मीहरुको सहयोगमा कन्टेनरहरू नेपाल प्रवेश गर्न दिएको छ । रोकिएका कन्टेनरहरू सबै नेपाल छिरिसकेको बताइएको छ । निर्यातको सन्दर्भमा समेत चीनसँग वार्ता भइरहेको भण्डारीले बताउनुभयो ।   निर्यातको सन्दर्भमा समेत चीनसँग वार्ता भइरहेको भण्डारीले बताए ।  

दशैका लागि खपत हुने सामग्री बोकेका कन्टेनरहरु सीमा क्षेत्रमा लामो समयसम्म रोकिँदा बजारमा बस्तुको अभाव हुने र महंगी बढ्दा उपभोक्तामा असर पुग्ने भन्दै व्यापारीले सरकारलाई सीमा नाका सुचारुका लागि पहल गर्न आग्रह गर्दैआएका थिए ।