ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २०७९ असोज ०७ गते सम्पन्न २७ औँ वार्षिक साधारणसभाले श्री पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको छ । सभाले कार्यसमिति सदस्यमा श्री सबिता भण्डारी बराल, श्री शरच्चन्द्र वस्ती, श्री सिताराम अग्रहरी, श्री मदनकृष्ण शर्मा, श्री महेन्द्र नारायण श्रेष्ठ, श्री हरि बहादुर थापा, श्री सुनिता गुरुङ र राष्ट्रिय ब्यवसायिक पहललाई निर्वाचित गरेको छ ।

अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ । सभाले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।

संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । भ्रष्टाचार विरुद्धको राजनितिक प्रतिवद्धता र शून्य संवेदनशीलता नारामा मात्र सिमित रहेको जनाएको छ । संघीय संरचना र लोकतान्त्रिक व्यवस्था सुदृढ भई आम नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा अझै कार्यान्वयन हुन नसकेको पनि उल्लेख गरिएको छ ।
सभामा उपस्थित सदस्यद्वारा संस्थाको सक्रियता र प्रभावकारिता बढाउन, नागरिक पहरेदारको भूमिका सशक्त बनाउन र नयाँ रणनिति मार्फत संस्थालाई अघि बढाउन पर्ने जस्ता कुरामा जोड दिइएको छ । नव निर्वाचित कार्यसमितिलाई भ्रष्टाचारको विरोधमा प्रभावकारी पहल गर्न सभाले सुझाव दिएको छ ।