छन्दु । बाह्य समाचार एजेन्सीले जानकारी दिए अनुसार आज चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएकाे छ । त्यसमा परी कम्तीमा २१ जनाको मृत्यु भएको प्रारम्भिक बिवरण स्थानीय अधिकारीले दिएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।
चीनकाे स्थानीय समयानुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
याे भूकम्पको धक्का केन्द्रबिन्दुबाट २२६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा समेत महसुस गरिएको थियो । राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा पुगेर परिचालन भइसेका छन् ।