काठमाडौं । नेपाली कांग्रेसका एकजना निष्ठाबान, चिन्तक प्रदिप गिरीको घाँटीको क्यान्सरका कारण हिजो राती ६.३६ बजे मेडिसिटी अस्पताल भैंसेपाटीमा निधन भएको छ । भारतको मुम्बई अस्पतालमा उपाचारपछि पुन: निमोनियाको समस्या देखिएकाले गत साउनको दोश्रो साता मेडिसिटी अस्पतालमा भरना भएर क्यान्सर बिशेषज्ञ डा. पंकज बर्मनको नेतृत्वको डाक्टरहरुको टोलीले उहाँको सघन उपचार गरिरहेको थियो ।
दिवंगत गिरी नेपाली कांग्रेसभित्र र वामपन्थी वृत्तमा समेत त्यतिकै स्थापित हुनुहुन्थ्यो । उहाँ मार्क्सवादी दृष्टिकोणबाट समेत समस्याहरुलाई बस्तुगतरुपमा केलाउने दुर्लभ काँग्रेसी हुनुहुन्थ्यो । उहाँ मार्क्सवादको गहिरो अध्ययन, चिन्तन गर्नुहुन्थ्यो । कतिपय वामपन्थी पार्टीहरुले समेत उहाँलाई मार्क्सबादको प्रशिक्षकको रुपमा समेत निम्त्याउने गर्दथे ।
‘विश्वेश्वरप्रसाद कोइराला: व्यक्तित्व र विचार’ भन्ने उहाँको कृति बीपीलाई बुझ्न चाहनेहरूका लागि एउटा महत्त्वपूर्ण पुस्तक रहेको छ । त्यस्तै, अर्को महत्त्वपूर्ण काम उहाँले बीपी कोइरालाका लेख, रचना, भाषण, अन्तरवार्ताहरूको संग्रह र सम्पादन पनि गर्दै आउनु भएको थियो । नेपाली राजनीतिका एक अध्ययनशील चिन्तकको अबशान भएको छ । उहाँ राजनीतिक बिबादभन्दा माथि उठेर बौद्धिक बिचार विमर्श र छलफल गर्ने प्राज्ञिक तहको खुबी भएको बिरलाकोटीको ब्यक्तित्व हुनु हुन्थ्यो ।
त्यसैले समकालीन राजनीतिमा बाम तथा लोकतान्त्रिक तहको साझा ब्यक्तित्व जस्तो उच्चाईमा उठ्न सकेको गिरीजस्तो अर्को राजनीतिक ब्यक्ति नेपालमा देखापरेको छैन भने अत्युक्ति हुँदैन ।
आफ्नै पार्टीको पनि प्रखर आलोचक रहने गरेका गिरी सत्तासँग भने सँधै टाढा रहनुभयो । उहाँको काग्रेस पार्टीसँगको सम्वन्ध सिद्धान्त र चरित्रको हिसाबले हाेइन, औपचारिक र प्राबिधिक जस्तो मात्र रहेको देखिन्थ्यो ।