शनिबार, कार्तिक ८ गते २०८३

होला भरोसा कि युवाहरूको !

श्रावण ३१, २०७९ मंगलबार
होला भरोसा कि युवाहरूको !
kathtaskari.jpg
इन्द्रनारायण सबेदी
(इन्द्रवज्रा)
=========================
विश्वास जित्ने अनि राष्ट्रभक्त
सत्कर्ममा लीन हुने सशक्त
साझा सबैको प्रिय शक्तिशाली
छानौँ भलो सज्जन भोट हाली।१।
च्याते भने त्यो मतपत्र हाम्रो
विश्वासमा दाग बसी नराम्रो
दुख्ने सधैँको हुन सक्छ चोट
सोचेर मात्रै लिइयोस् अठोट।२।
आएर कोही घरमा रुनेछन्
श्रद्धा गरेझैँ करमा छुनेछन्
बाँड्छन् कसैले उपहार पोका
पर्दै नपर्नू भर हुन्छ धोका।३।
थोत्रा पुराना अब हार्नुपर्छ
खोसेर सिंहासन झार्नुपर्छ
भेडा नहोऔँ किन बन्नु दास
निष्प्राण छन् मालिक भर्न सास।४।
ती वृद्ध कन्टेनरभित्र बस्छन्
झुक्याउँछन् फेरि ढुकेर डस्छ्न्
ती वा तिनैका पिछलग्गुलाई
पाल्यौँ सधैँ हुन्छ र के भलाइ।५।
धोई गधा हुन्न कदापि गाई
के गर्नु पञ्चामृत सर्पलाई
एक्लै हिँडोस् वा गठजोडभित्र
छोड्दैन दुर्वृत्ति लिने चरित्र।६।
विश्वास लाग्दैन कुनै अरूको
होला भरोसा कि युवाहरूको
सुम्पे अरूमा रहँदैन देश
यौटै परीक्षा तिनको छ शेष।७।
=========================
श्रावण मसान्त २०७९