कृष्णनगर ।कपिलवस्तु
गएकाे बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका बेला एमाले कार्यकर्ताको निर्घात कुटाईबाट गम्भीर घाइते भएका मोहम्मद अरमान खाँको साेमबार निधन भएको नेकपा(एकीकृत समाजबादी) कृष्णनगर कमिटीका अध्यक्ष इन्तेखाव अहमद खाँले जानकारी दिएकाे स्थानीय सम्वाददाताले बताएका छन् ।
मृतक खाँ बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट पार्टी प्रतिनिधि थिए । एमाले कार्यकर्ताले भोटिङ कार्ड बिना नै मतदान गर्न मतदानस्थलमा आफ्ना मान्छे प्रवेश गराए पछि खाँले उक्त क्रियाकलाप आफ्नो मोबाइलबाट खिचेका थिए ।
उक्त भिडिओको विषयलाई लिएर दुबै पक्ष बीच झगडा हुँदा घटनाले हिंसाको रुप लिएको बताइएको छ । १० जना एमाले कार्यकर्ताले खाँलाई घटना घट्ने दिन राति घरमा पुगेर निर्घात कुटपिट गरेका थिए ।
कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका खाँलाई उपचारका लागि बुटवलको चौराह अस्पतालमा रिफर गरिएको थियो ।
खाँलाई झण्डै २० दिन जति कोमामा राखेर उपचार गरेपनि स्थिति सामान्य नभए पछि चिकित्सकले घरमा पठाएका थिए । घरमै घाइते अवस्थामा रहेका खाँको अन्ततः निधन भएको हो ।
खाँको कुटपिटमा संलग्न १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको बताइएकाे छ।
तीमध्ये तीन जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।
सोमबार मात्रै आरोपित मध्ये थप दुई जना पक्राउ परेका कपिलवस्तु प्रहरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता जेसी शाहले बताए ।
बाँकी ५ जना आरोपित फरार रहेका छन् । सुरुवातमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत कपिलवस्तुले ८ लाख धरौटीमा रिहा गरेको वडा नं. १० का निवर्तमान वडाध्यक्ष अब्दुल मोविन खाँले जानकारी दिए ।
मृतकका आफन्त समेत रहेका मोविन खाँले कुटपिटमा संलग्न विरुद्ध कानुन अनुसार कारबाहीको माग गरेका छन् ।