शनिबार, आश्विन १७ गते २०८३

काेशी नदीकाे बाढी बस्तीमा पसेपछि उदयपुर बेलाका नपाका ९ सय घर परिवार सुरक्षित स्थानमा सारिए

श्रावण १८, २०७९ बुधबार
काेशी नदीकाे बाढी बस्तीमा पसेपछि उदयपुर बेलाका नपाका ९ सय घर परिवार सुरक्षित स्थानमा सारिए

उदयपुर, भारी वर्षाका कारण उदयपुरमा सप्तकोशी नदीको बाढी बस्तीमा पसेपछि प्रभावित भएका नौ सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारिएको खबर छ । उनीहरूलाई अस्थायी शिविर बनाएर राखिएको उदयपुरका प्रहरी उपरीक्षक  सुवास बोहराले जानकारी दिएका छन्। कतिपय प्रभावित विद्यालयमा आश्रय लिइरहेका छन् भने कतिपय आफन्तकोमा बसेकाे बताइएकाे छ।

saptakoshi-1.jpg

उदयपुरकाे सुदूर पूर्वकाे बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटबाट ५० मिटर लामो बाँध भत्काएर सप्तकोशी नदी बस्तीमा छिरेको हो । सप्तकोसीले आफ्नो धार परिवर्तन गरेका कारण बाढी र डुबानको समस्या बढेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । २०४५ सालको भूकम्पअघिको बाटोमा सप्तकोसी फर्किएको हो । २०४५ सालको भूकम्पपछि नदी पूर्व किनारतर्फ गएको थियो ।

सप्तकोसी बस्तीमा पस्दा झन्डै चार हजार मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा धेरै प्रभावित भएका छन् । १५ सय परिवारलाई सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएकाले थप मानिसलाई पनि सुरक्षित ठाउँमा सार्ने काम भइरहेको एसपी बोहराले जानकारी दिए । उद्धारका लागि डुङ्गासहित तीन सय सुरक्षाकर्मी परिचालन भएका छन् ।