शनिबार, आश्विन १७ गते २०८३

आन्दोलनरत ६ बाम राजनीतिक शक्तिद्वारा थप आन्दोलनको घोषणा, आन्दोलन ब्यापक बन्न नदिने संकीर्ण र षडयन्त्रकारी प्रबृत्तिकाे बिराेध

श्रावण १३, २०७९ शुक्रबार
आन्दोलनरत ६ बाम  राजनीतिक शक्तिद्वारा थप आन्दोलनको घोषणा, आन्दोलन ब्यापक बन्न नदिने संकीर्ण र षडयन्त्रकारी प्रबृत्तिकाे बिराेध

काठमाडौं । आज नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा मसाल विशेष महाधिवेशन आयोजक समिति, नेपाल कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाको अपरान्ह संयुक्त बैठक बसेर उनीहरुले राष्ट्रघात र जनघातका विरुद्ध देशव्यापी रुपमा संयुक्त संघर्षको घाेषणा गरेका छन् । बैठक पछि  संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले यस्ताे घाेषणा गरेका हुन् ।

आन्दोलनरत ६ राजनीतिक दलको संयुक्त बैठकले संसद्मा प्रस्तुत र पारित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, असंलग्न परराष्ट्र नीतिका विपरीत नेपाली सेनाको भूमिका, भ्रष्टाचार तथा महँगी र मलको अभावका विरुद्धदेशव्यापी विरोेध कार्यक्रम गर्ने निर्णय गरेको हाे ।

संघर्षका कार्यक्रम अनुसार नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिलाई ज्ञापनपत्र दिने, अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुको विरोध जनाउने, अन्तरक्रिया गर्ने, विरोध सभा गर्ने लगायत रहेका छन् । साउन २० गते काठमाडौंमा र साउन २६ गते इटहरी, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बुटवल, धनगढी, सिमरा, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा माथि भनिएका समस्या सम्वन्धमा बिराेध सभा गर्ने र आवश्यकताअनुसार स्थानीयस्तरमा संयुक्त कार्यक्रम गर्न सक्ने निर्णय गरिएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा राष्ट्रिय समस्यालाई लिएर संयुक्त आन्दोलनमा क्रियाशील ६ राजनीतिक दलको सदासयता र प्रयत्नका बावजुद सङ्कीर्ण मानसिकताले ग्रसित प्रवृत्तिका कारण बृहत संयुक्त संंघर्षले साकाररुप लिन नसकेको यथार्थ जनाउँदै आन्दोलनलाई अझ व्यापक र बृहत् बनाउँदै लैजाने पहल र प्रयत्न जारी राख्ने पनि उल्लेख गरिएकाे छ ।
bigyapti.jpg