कम्युनिष्ट आन्दोलनका शीर्ष नेता तथा मार्गदर्शक कमरेड पुष्पलाल र प्रजातान्त्रिक समाजबादी(Social Democratic) आन्दोलनका शीर्ष नेता बिश्वेश्वसर प्रसाद कोइरालालाई आज कसरी सम्झने यो अत्यन्तै गम्भीर प्रश्न र महत्वको कुरा छ । आज देश अभूतपूर्ब संकटमा छ । आन्तरिकरुपमा सत्ताशाली दलहरु सिद्धान्तच्यूत,राजनीतिक मूल्य मान्यताबिहीन बनेर बिदेशी शक्तिको आड भरोसामा सत्तामा हाली मुहाली चलाउन उद्यत छन् । उनीहरुले राष्ट्रहित र जनहितलाई पूरै बेवास्ता गरेर बरु तिनको मूल्यमा आफ्नो संकीर्ण स्वार्थ सिद्ध गर्न शक्ति राष्ट्रको स्वार्थका अगाडि लम्पसार परिरहेका छन् । त्यसैले आज चौतर्फीरुपमा बाह्य हस्तक्षेप बढेर गइरहेको छ। एमसीसी, एसपीपी र घातक नागरिकता बिधेयक यस कुराका पछिल्ला डरलाग्दा उदाहरणहरु हुन् । यी कुराले देशलाई अपूर्ब संकटको दिशामा धकेल्दछन् र संकटमाथि महासंकट थप्दछन् ।
यस अत्यन्तै भयावह एबं गम्भीरतम स्थितिका परिप्रेक्षमा पुष्पलाल र बीपीको आज स्मरण र कुरा गर्दा उनीहरु आफुलाई आइपर्ने जस्तोसुकै खतरा मोलेर पनि देश र जनताको हितमा - राष्ट्रियता, जनतान्त्रिक अधिकार, नागरिक स्वतन्त्रता र जनजीबिकाका लागि अर्थात नेपाल र नेपाली जनताको सार्बभौमिकता,स्वाधीनता, स्वतन्त्रा, समुन्नति र समानताका लागि आ–आफ्नो ढंगले मूल्ययुक्त राजनीति गर्ने दुइ शीर्ष ब्यक्तित्वकोरुपमा हाम्रो सामु देखा पर्दछन् । कस्तै कठिन परिस्थितिमा पनि सत्ताको संकीर्ण स्वार्थका लागि आफुले अंगीकार गरेको बिचार, सिद्धान्त, नीति र मूल्य मान्यता तथा देश र जनताको हित बिरुद्ध कुनै कदम चाल्न हुदैन र त्यस्तो कुनै तलमाथि परेको भए सच्याउने सुधार्ने र सही दिशामा अघि बढ्ने भन्रे कुरा नै उनीहरुको राजनीतिक जीवन यात्राले दर्शाउँदछ । बीपीका पछिल्ला कृति ‘जेल जर्नल र आत्म बृत्तान्त’ले गल्ती कहाँ कहाँ भए, बाह्य हस्तक्षेप कसरी भइरहेको थियो भन्ने कुरा दर्शाएको पाइन्छ र त्यस्ता हस्तक्षेपका बिरुद्ध खडा हुनु पर्दछ भन्ने दर्शाउँदछ । त्यसैगरी कमरेड पुष्पलालका राजनीतिक कृतिहरुमा त नेपालका समाधान हुनै पर्ने तीन गम्भीर समस्या अर्थात तीनवटा मूख्य अन्तरबिरोध नेपालको सामन्तबाद, भारतीय एकाधिकार पूँजीवाद र बिश्व साम्राज्यबादसँगको अन्तरबिरोध हल नभइकन नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्बभौमिकतामाथिको खतरा तथा जनतान्त्रिक अधिकार, नागरिक स्वतन्त्रता एबं जनजीबिकाका समस्या हल हुँदैनन् भन्ने कुरा प्रष्टरुपमा औंल्याएर नेपाली जनतालाई यी समस्या हल गर्न संघर्षशील बन्नु पर्ने प्रष्ट मार्गदर्शन गरेको छ ।
त्यसैल आज कमरेड पुष्पलाल र बीपीलाई स्मरण गरिरहँदा हामी कहा खडा हुनु पर्दछ भन्ने कुरा प्रष्ट छ । केवल उनीहरुका फोटो पूजा आजा गरेर र भजन कीर्तन गर्दै उनीहरुले दर्शाएको मूलबाटो छोड्ने र सबै मूल्य मान्यता तोड्ने काम गरेर देशका जटील र गम्भीर समस्या हल हुँदैनन् । आज ती समस्यालाई बल्झाइराख्ने र समाधानहीन राखेर त्यसबाट फाइदा उठाउने निहीत स्वार्थ बोकेको प्रतिकृयाबादी सत्ता र त्यसलाई आड भरोस दिने बाह्य शक्ति केन्द्रहरुका बिरुद्ध नेपाली जनतालाई निरन्तर सचेत, संगठित र संघर्षशील तुल्याइराख्नु तथा नेपाली जनताको सुदृढ एकताको खोजी गर्नु आजको सर्बोपरी आवश्यकता हो । यसो नगरीकन नेपाल र नेपाली जनतामाथिक संकट र बढ्दो खतराबाट मुक्त हुन सकिदैन । पुष्पलाल र बिपीलाई सम्झदा बिर्सनु नहुने मूल कुरा यीनै हुन् ।