नेपाल धितोपत्र बोर्डले २० करोड रुपैयाँ लगानी गर्न सक्नेलाई सेयर ब्रोकरको लाइसेन्स दिने नीति बनाएको छ । अहिले सेयर ब्रोकरको चुक्ता पूँजी २ करोड रुपैयाँ मात्रै रहेको छ ।
बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै हरेक वर्ष ब्रोकरको लाइसेन्स खुल्ला गर्ने नीति लिएको हो । बोर्डले सेयर ब्रोकरलाई तीन प्रकारको काम गर्न पाउने नीति बनाएको छ । अहिलेको साधारण सेयर खरिदबिक्रीको लागि २० करोड चुक्ता पूँजी चाहिने व्यवस्था गरिएको छ ।
यस्तै लगानी परामर्श सेवा,निक्षेप सदस्य तथा मार्जिन कारोबारको लागि ६० करोडको चुक्ता पूँजी चाहिने व्यवस्था गरिएको छ । यसबाहेक धितोपत्र व्यापारीको रुपमा संस्थागत लगानीकर्ताको समेत काम गर्नेले १ अर्ब ५० करोड रुपैयाँको पूँजी राख्नुपर्ने व्यवस्था गरिएको छ । धितोपत्र बोर्डको सञ्चालक समितिले पास गरेको नियमावली अहिले अर्थमन्त्रालयमा रहेको छ । मन्त्रिपरिषद्को बैठकले पास गरेपछि नियमावली कार्यान्वयनमा आउने छ ।