शनिबार, आश्विन १७ गते २०८३

नेपाललाई अमेरिका अधिनस्थ तुल्याउने गतिबिधिदेखि साबधान – नेपाल कम्युनिष्ट पार्टी

आषाढ ३, २०७९ शुक्रबार
नेपाललाई अमेरिका अधिनस्थ तुल्याउने गतिबिधिदेखि साबधान – नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टीले एक बक्तब्य जारी गर्दै नेपाललाई अमेरिका अधिनस्थ तुल्याउने सबै खाले गतिबिधिदेखि सावधान रहन र त्यस्ता गतिविधि खारेज गर्ने सशक्त संयुक्त आन्दोलनमा उत्रन आह्वान गरेको  छ । हिजो असार २ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले सार्बजनिक गरेको बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

नेपालको सार्बभौमिकता र राष्ट्रिय स्वाधीनताको ठाडो उल्लंघन गर्दै नेपालाई अमेरिकाको अधिनस्थ तुल्याउने खालको अत्यन्तै  अबाञ्छित राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदनपछि नेपाललाई चीन बिरोधी सैन्य अखडामा परिणत गर्ने अमेरिकी साम्राज्यबादको अनिष्टकारी सैन्य योजना तीब्ररुपमा अघि बढाउने गतिबिधिहरु भइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी  त्यस्ता गतिबिधिहरुको तीब्र बिरोध गर्दै त्यस्ता गतिबिधि ढाकछोप गर्ने र त्यसबारे भ्रम फैलाउने कुनै पनि  जालझेल र प्रपञ्च नगरी अमेरिका र नेपाल बीच भए गरिएका सैन्य गुटबन्दी सम्वन्धि सम्पूर्ण गतिबिधिहरुको श्वेतपत्र जारी गर्न  नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

नेपालको पररष्ट्र नीतिका मूलभूत तत्व असंलग्नता, पञ्चशील र सम–मैत्री सम्वन्ध प्रतिकूल, अमान्य  कुनै पनि प्रस्ताब, सन्धि सम्झौता र सहमति अस्वीकार र रद्द गर्न नेपाल सरकारसँग पुन: जोडदार  माग गर्दै  निकट छिमेकी देश चीन र भारत लगायत सबै देशहरुसँग असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्र संघको बडापत्र अनुरुप  परस्पर अझ उन्नत किसिमले  सम–मैत्री सम्वन्ध कायम गर्न नेपाल दृढ र अडिग छ  भन्ने प्रतिबद्धता नेपाली जनसमक्ष ततकाल सार्बजनिक गर्न नेपाल कम्युनिष्ट पार्टी बिशेष जोड दिन्छ ।

यसका अतिरिक्त अमेरिकी सम्राज्यबादको बिश्व शान्तिमा खलल पुर्याउने गतिबिधि निरन्तर चल्दै आएको र बढ्दै गएको तथा एमसीसी सम्झौता पनि त्यसै अनुरुप भएकोले प्रधानमन्त्रीको प्रस्ताबित अमेरिका भ्रमणबाट देशको राष्ट्रिय हितमा कुनै तलमाथि पर्दैन भन्ने औचित्य पुष्टी गर्न समेत  नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ । अन्यथा शक्ति राष्ट्रहरुको उक्साहटमा नेपाललाई संकटको महाभुवरीमा धकेल्ने यस्ता नेपाल र नेपाली जनताका बिरुद्धका कुनै पनि गतिबिधिको सशक्त बिरोधमा सम्पूर्ण नेपाली जनता एक जुट भएर मैदानमा उत्रिनुको कुनै बिकल्प नरहेको नेपाल कम्युनिष्ट पार्टी प्रष्टसँग औंल्याउँदछ र सम्पूर्ण स्वाधीनताप्रेमी नेपाली जनता र तिनलाई प्रतिनिधित्व गर्ने शक्ति दल र समूहहरुलाई यसका निमित्त संयुक्त भएर अघि बढ्न जोडदार आह्वान गर्दछ ।

partystatement.pdf :To download file click here