साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरु गरेको जनाएको छ। १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपोरबिक्री कक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको हो।
कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ। ‘१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डिएपी आफ्ना डिपोरबिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ। बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ,’ कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले भने।
मल प्रतिबोरा ५० केजीको हुन्छ। उनकाअनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्ने छ।
‘२२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ। स्वेदेश आउनेबित्तिकै डिपोरबिक्री कक्षमार्फत बिक्री वितरण सुरु हुन्छ,’ उनले भने। रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पोरेशनले लिएको छ।
कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो। विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वोत्कृष्ट मानिन्छ। सरकारले यसपटक कर्पोरेशनलाई कूल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो। यो कूल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो। बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ। कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब रु ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ।
कृषि मन्त्रालयका अनुसार विशेषगरी यस मौसमका धान र मकै बालीका लागि मात्र दुई लाख मेट्रिक टन रासायनिक मल डिएपी र युरियाको आवश्यक पर्दछ भने वार्षिकरूपमा पाँच लाख मेट्रिक टन मल खपत हुने गर्दछ। मनसुन सक्रिय सरकार निष्क्रिय बन्दा किसान मारमा परेको जनाउँदै सदनले आइतबार सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देशसमेत गरेको थियो।