-
भैरहवा । रुपन्देही जिल्लाको भैरहवा–परासी सडक खण्ड अन्तर्गतको रोहिणी खोलामा आज बिहान यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको र २३ जना घाइते भएको खबर छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस बिशान ४ बजे सो पुलबाट खोलामा खसेको बताइएको छ ।
बस खोलामा खसेर घाइते भएका यात्रीहरुको उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताएका छन् ।
बसका चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिइएको छ ।
यो रोहिणी पुलबाट यसरी पटक–पटक सवारीहरु खोलामा खस्ने गरेका छन् । आज खसेर उत्तानो परेको बसलाई तीनवटा जेसीभीको प्रयोग गरेर सुल्टो बनाएर यात्रुको उद्धार गरिएको जानकारी हुन आएको छ ।
