शनिबार, आश्विन १७ गते २०८३

चौतर्फी मूल्यबृद्धि फिर्ता गर, कृषिमा अधिकतम बजेट देऊ – चार किसान संगठन

जेठ ११, २०७९ बुधबार
चौतर्फी मूल्यबृद्धि फिर्ता गर, कृषिमा अधिकतम बजेट देऊ  – चार किसान संगठन

देशका चार जिम्मेवार किसान संगठनले सरकारले बढाएको चौतर्फी चर्को मूल्य बृद्धिको घोर बिरोध गर्दै एक संयुक्त बक्तब्य जारी गरेका छन् । उनीहरुले सरकारले आर्थिक बर्ष २०७९/८० को बार्षिक बजेटमा किसान र कृषि केन्द्रित हुनु पर्ने बिभिन्न सुझाव सहीत महत्वपूर्ण माग पनि गरेका छन् । अखिल नेपाल किसान यूनियन, अखिल नेपाल किसान महासंघ (अप्फा) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) र अखिल नेपाल प्रगतिशील किसान संघले   दिएकाे संयुक्त बक्तब्य यस प्रकार छ :

स्थानीय चुनाव सकिँदा नसकिदै खाना पकाउने ग्यास सिलिण्डर लगायत पेट्रोलियम पदार्थको चर्को मूल्य बृद्धि र दैनिक उपभोगका अन्य नभइ नहुने खाद्य पदार्थ लगायतका सामाग्रीहरुमा अनियन्त्रित मूल्य बृद्धि गरेर यतिबेला सरकारले आम नेपाली जनताको खाशगरी किसानहरुको उठ्नै नसक्ने गरी नराम्रोसँग ढाड सेकेको छ । हामी यस्तो आम उपभोक्ता र खासगरी किसानमारा गैर जिम्मेवार सरकारी कदमको घोर बिरोध गर्दछौं र पेट्रोलियम पदार्थ लगायत सबै सामग्रीको बढेको मूल्य फिर्ता लिन जोडदार माग गर्दछौ ।
अहिले इन्धन, खाद्यान र उपभोग्य वस्तुहरुको मूल्य अप्रत्याशीत रुपमा आकाशिएर  ग्यासको प्रति सिलिण्डर रु.२०० बढाएको र बाँकी इन्धनको पनि सबैमा प्रति लिटर रु.१० बृद्धि गरिएको छ । अनि चामल, दाल, गेडागुडी, तेल, फलफूल, दूध, तरकारी, नुन र मैदाजस्ता दिनदिनै सबैले उपभोग गर्ने वस्तुहरुको पनि अघिल्लो बर्षको तुलनामा दोब्बर  मूल्य बृद्धि भएको छ । त्यसरी नै मल, बीउ, निर्माण सामग्री, औषधी र यातायातको भाडा लगायत स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रका सेवामूलक कार्यहरुको मूल्य  पनि अनपेक्षित रुपमा बृद्धि गरिएको, वस्तु तथा सेवाहरुको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई थप मूल्यभारमा पार्ने र चर्को रुपमा आर्थिक शोषण गर्ने काम खुलेआम रुपमा हाकाहाकी भइरहेको छ । यसरी भू–माफिया, दलाल, कालाबजारिया, तस्कर र विचौलियाहरुको बजार भने उच्च नाफाकासाथ फस्टाइरहेको छ । हामी यस्तो किसान मारा स्थितिको अन्त्य गर र किसानलाई चाहिने सबै उपभोग्य बस्तुहरु उचित मूल्यमा उपलब्ध गराउन जोडदार माग गर्दै सबै उपभोक्ता र खाशगरी किसान बर्गलाई चर्को मूल्य बृद्धिको बिरुद्ध खबरदारी गर्न र आन्दोलनमा उत्रिन आह्वान गर्दछौं ।
यतिबेला हामी चार किसान संगठन बिश्वमा बढ्दो खाद्य संकट समेतलाई मध्यनजर राखेर सरकारद्वारा प्रस्तुत हुन लागेको आ.ब. २०७९/८० को बजेटमा चौतर्फी कृषि उत्पादन बृद्धि र किसान बर्गको समुन्नतिका लागि अधिकतम बजेट तर्जुमा गर्न र त्यसको सदुपयोग गरी कृषि र किसानको जीवनमा उत्साहजनक स्थिति सिर्जना गर्न, कृषि आयात प्रतिस्थापन गर्न, कृषि निर्यात बढाउन, कृषि र बनजन्य उद्योग खोलेर रोजगारी पैदा गर्न तथा श्रम पलायन रोक्ने गरी कृषि क्षेत्रमा अधिकतम बजेट बिनियोजन गर्न र त्यसको सदुपयोग गर्न समेत जोडदार माग गर्दछौ ।