काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान साढे १० बजे नेपालको औपचारिक भ्रमणमा सिद्धार्थ गौतमबुद्ध जन्म स्थल लुम्बिनीमा आउँदैछन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी यो एक दिने छोटो भ्रमणमा नेपाल आउन लागेका हुन् । मोदी २०१४ मा भारतमा सत्तासीन भएयताको उनको यो पाँचौ नेपाल भ्रमण हो ।
गौतम बुद्धको २५६६औं जन्म जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ । प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । लुम्बिनी अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा आज बिशेष बुद्ध जयन्ती मनाउने तयारी गरिएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग नेपालकाक परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा रहँदा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम निर्धारित छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्रीको स्वागतार्थ प्रधानमन्त्री शेरबहादुर देउवा हिजै लुम्बिनी पुगिसकेका छन् । उहाँसँग परराष्ट्र, गृह, शिक्षा, सँस्कृति, पर्यटन मन्त्रीहरु र सरकारकाक उच्च अधिकारीहरु पनि रहेका छन् ।
यस्ता उच्च स्तरीय भ्रमणहरुले दुइ देशका बीच रहेका ज्वलन्त समस्याहरुलाई सही ढंगले समाधान निकाल्ने बाटो पहिल्याउन सकेभने त्यो दुइ देशका जनताका बीचको प्रगाढ सम्वन्धलाई अझ सबल र सार्थक तुल्याउन सहायक सिद्ध हुनेछ ।