शनिबार, आश्विन १७ गते २०८३

सिद्धार्थ गौतम बुद्धको यथार्थ ज्ञान तत्व सन्दर्भ

जेठ १, २०७९ आइतबार
सिद्धार्थ गौतम बुद्धको यथार्थ ज्ञान तत्व सन्दर्भ

२५६६औं  बुघ्द जयन्तिका सन्दर्भममा

–madal_1gross.jpg 

लोकनारायण सुवेदी

 बिश्वले यस बर्ष पनि बुद्ध जयन्ति मनाउँदै छ। आजभन्दा २५६५औं बर्ष पहिले अर्थात् इशा पूर्व  ४६३ इस्वीमा नेपालको कपिलबस्तु जिल्लामा पर्ने शाक्य गणतन्त्रमा जन्मेका राजा शुद्धोधनका छोरा सिद्धार्थ गौतम आफ्नो ज्ञान, बिवेक र बुद्धिको बलले पछि सिद्धार्थ गौतम बुद्ध बने । बिश्वमा समग्र सामाजिक हित, समानता र न्यायको निम्ति राज महलको सुखशयल, बिलाश र बैभवको त्याग गर्न अघि र्सर्ने महात्मा गौतम बुद्ध जस्ता राजकुमारहरु नगन्य होलान् । त्यो पनि आजभन्दा दुइ हजार पाच सय अण्ठाउन्न बर्ष अघि ।त्यस्तै बिरलाकोटीका राजकुमार थिए सिद्धार्थ गौतम जसले २४ बर्षको खाउँखाउँ-लाउँलाउँको यूवा उमेरमै त्याग, समर्ण र परिवर्तनको कठिन बाटो अबलम्बन गरे । रुढीबादी अन्धबिश्वासमा जकडिदै गएको र सन्दर्भहीन कर्म काण्डको बिकृति र बिसंगतिमा फसेको कठमूल्ला हिन्दूबादी समाजमा आमूल परिवर्तन ल्याउन  उनले कोशिश गरे । त्यस क्रममा उनले त्यतिबेला प्रचलित सँस्कृत भाषालाई छोडेर सर्ब साधारणले बुझने पाली भाषामा आफ्ना बिचार र अबधारणहरु प्रस्तुत गरे । उनले प्रस्तुत गरेका ग्रन्थहरुमध्ये त्रिपिटक सबैभन्दा ठूलो र महत्वपूर्ण ग्रन्थ हो ।

सिद्धार्थले आरम्भिक शिक्षा बिश्वामित्रबाट लिए । उनले बेद, पुराण, उपनिषदहरुको अध्ययन गरे । त्यस बाहेक उनले युद्ध ज्ञान पनि लिए ।  तीर हान्ने, घोडा दौडाउने, कुस्ती जस्ता सीपहरु पनि सिके । त्यसबेला बुद्ध जत्तिको सिपालु रथ हाँक्ने अरु कोही थिएनन् भनिन्छ । यसरी राजकुमार हुर्कदै गएर १६ बर्षको भए पछि उनको बिवाह शाक्य कन्या यशोधरासँग सम्पन्न भयो । आफ्ना पिता शुद्धोधनले ऋतु अनुरुप निर्माण गरेको भब्य  र बैभवशाली राजदरबारमा पत्नी यशोधरासँग जीवन गुजार्न थाले । उनलाई एक पुत्र पनि प्राप्त भयो जसको राहुल नामाकरण गरियो । सिद्धार्थ गौतम २० बर्षकाे भए पछि तत्कालीन शाक्य संघको सदस्य भए । यसरी संघको कार्यमा बहुतै रुचीपूर्वक समर्पित  र दत्तचित भएर लागेका सिद्धार्थ गौतमले त्यो संघमा आठ बर्ष बिताए । संघमा उनको आचरण र ब्यवहार सबैका लागि अत्यन्तै उदाहरणीय र प्रिय बनेको थियो ।

गौतम बुद्ध २४ बर्ष पुगेका बखत शाक्य गणराज्य र छिमेकी कौलीय गणराज्यबीच सीमा नदीको रुपमा रहेकोे रोहिणी नदीको पानी सिञ्चाइको निम्ति पहिला कसले र कति पानी उपयोग गर्ने सर्न्दर्भमा तनाव उत्पन्न भयो । यस्ता बिवादहरु बढ्दै गएर कतिपय समयमा लडाइकै रुप लिन्थे । सम्वादद्वारा बिवाद नमिले पछि युद्धद्वारा नै त्यस प्रकारका समस्याको हल गर्ने त्यतिबेला पनि प्रचलन थियो । त्यसैले शाक्य गणराज्यका सेनापतिले कोलीय गणतन्त्रका बिरुद्ध युद्धको प्रस्ताव राखे । तर सिद्धार्थ गौतम यो प्रस्तावको बिरुद्ध थिए । उनले युद्ध कुनै पनि समस्याको समाधान होइन भन्ने कुरामा बिश्वास राख्दथे र त्यसैमा दृढ थिए ।उनले दुबै तर्फका मानिसहरु राखेर एउटा समिति बनाउने र त्यसले एक नेता चुनेर समस्या समाधान गरिनु पर्ने प्रस्ताव राखे । तर युद्धकै पक्षमा ठूलो बहुमतले प्रस्ताव पारित भयो । त्यस स्थितिमा सिद्धार्थ गौतमका सामुमा तीनवटा मात्र बिकल्प थिए - सेनामा भरना भएर युद्धमा भागलिने, आफ्ना परिवारका मानिसहरुको सामाजिक बहिष्कार तथा उनीरुको खेत जफत हुने कुरामा सहमत हुने र फाँसीमा चढ्न या देश निकाला स्वीकार गरेर हिड्न तयार हुने । उनले तेश्रो बिकल्प चुने र परिब्राजक बनेर देश छोड्न तयार भए । यसरी शान्तिको खोजीमा युद्धको बिरुद्ध उनले दरबारको सुखशयलको त्याग गरेका थिए । दूधमुखे छोरो र प्रिय पत्नीलाई पनि छोडेर हिडेका थिए ।

यस प्रकार राजकुमार सिद्धार्थ गौतम अब भिक्षु बनेर समाज चाहार्दै र जीवन र जगतको यथार्थ कुरा बुझ्दै हिडे । उनले योग साधना पनि सिके । बिभिन्न किसिमका तपस्याको पनि प्रयोग गरे । यसरी सबै कुरा गर्दै जाँदा उनले कुनै पनि प्राप्तिका लागि अतिबाद काम नलाग्ने र मध्यम मार्ग अपनाउनुपर्ने निष्कर्शमा पुगे । यथार्थ सत्यको बोध गर्न हिडेका गौतम बुद्धले वास्तवमा जुन महाज्ञान प्राप्त गरे त्यो नै अष्ठ मार्ग र पञ्चशीलको रुपमा बिख्यात छ । उनले १४ बर्षकाे ज्ञानको खोजीपछि ४० बर्षकाे उमेरमा आफुले पाएको ज्ञानलाई सँस्कृत भाषाको साटो स्थानीय सरल पाली भाषामा प्रचार प्रसार गर्न थाले । त्यसको सोझो असर समाजमा पनि पर्न थाल्यो र त्यसको लोकप्रियता बढ्न थाल्यो । उनको अनुभव र ज्ञान प्रचार गर्ने क्रममा र्सबप्रथम उनले सारनाथ-जसलाई त्यतिबेला काशीको मृगदाव भनिन्थ्यो- पुगे र पहिलो प्रचार आरम्भ गरे । यसरी आफ्नो ज्ञान-धर्मको प्रचार गर्दै ८० बर्षको उमेरमा उनको महापरिनिर्वाण -देहाबसान- भयो ।

बुद्धको मूल उपदेश 'अप्प दीपो भव' अर्थात "आफै प्रकाश बन" भन्ने हो । बुद्धका अनुसार धर्म भनेको ज्ञान प्राप्ति, समानता प्राप्ति र मित्रता प्राप्ति हो । यसका लागि सम्यक ज्ञान, सम्यक बिचार, सम्यक दृष्टि, सम्यक आचरण, सम्यक कार्य आदि बताइएका छन् । उनले दुःख छ, दुःखको कारण छ र त्यसको निवारण पनि छ भन्ने कुराको ज्ञान दिएका छन् त्यसैका लागि अष्टांगिक मार्ग प्रस्तुत गरेका छन् । उनको पञ्चशीलको सिद्धान्त त आज बिश्वका देशहरुका बीच सह-सम्बन्ध कायम गर्ने एउटा महत्वपूर्ण तत्व नै बनेको छ ।बुद्ध अन्धबिश्वास बिरोधी, काटमार बिरोधी र पशुबली बिरोधी थिए । बुद्धको ज्ञानमा जातपात, छुवाछुत र उचनिचको कुनै भेदभाव थिएन । बुद्धको यो महाज्ञानलाई उनका पिता राजा शुद्धोधन र पुत्र राहुलले पनि ग्रहण गरेका थिए । यद्यपि अरम्भमा बुद्ध माहिलाहरुलाई बुद्ध संघमा लिने कुरामा सहमत थिएनन् । तर पछिबाट यो कुरा पनि उनले स्वीकारे । यद्यपि उनलाई यो कुरा -महिलालई संघमा लिने कुरा - रुचीकर लागिरहेको थिएन ।

यसरी नेपालमा जन्मेका सिद्धार्थ गौतम बुद्धले बिश्व कल्याण, मानबता र मानबीयताका लागि जुन अमोघ योगदान दिए त्यसै कारणले उनलाई आज शान्तिको अग्रदूत र एशियाका प्रकाशको रुपमा सारा बिश्वभरी जानिन्छ । बुद्धका सही उपदेशहरु्लाई जसरी सकीर्णरुपमा खाश सम्प्रदायको लागि मात्र प्रयुक्त गरिदैछ त्यसले बुद्धको बिश्व मानबतालाई दिएको योगदानलाई संकीर्ण र सीमित तुल्याउने काम गरेको छ भने अर्कोतिर बुद्ध जस्ता सर्बोत्कृष्ट मानबलाई भगवान बनाएर पूजा अर्चना गर्ने उनको अन्धविश्वास बिरुद्धको भावनालाई पनि यसरी उपेक्षा गर्ने गरिएको छ । यो बुद्धको फराकिलो ज्ञान र समाज परिवर्तको दृष्टिका लागि अमान्य कुरा हो ।