चीनमा एच३एन८ एभियन इन्फ्लुएन्जा मानवमा संक्रमण भएको पहिलो केस रेकर्ड गरिएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै एक ४ वर्षीय बालक बर्डफ्लुको उक्त स्ट्रेनबाट सङ्क्रमित भएको जनाएको हो । ती बालक मध्य चीनको हेनान प्रान्तमा कुखुरा र जंगली हाँसहरूसँग सम्पर्कमा भएको र अप्रिल ५ मा ज्वरो आएपछि उनलाई १० अप्रिलमा अस्पतालमा भर्ना गरिएको थियो।
उक्त भाइरससँग अझै प्रभावकारी रूपमा मानिसहरूलाई संक्रमित गर्ने क्षमता भने नभएको राष्ट्रिय स्वास्थ्य आयोगको विश्वास छ ।
यस अघि एच३एन८ एभियन इन्फ्लुएन्जा मानिसमा पत्ता लागेको थिएन, तर इन्फ्लुएन्जा प्रजातिले चरा, घोडा र कुकुरहरूमा रोग निम्त्याउँछ। केही अध्ययनहरूले सन् १८८९ को त्यस्तै प्रकारको रूसी महामारीसँग मिल्दोजुल्दो बताएपनि प्रमाणित भने भएको छैन।
‘संक्रमण अन्यत्र पनि फैलिएको छ वा छैन भनेर सुनिश्चित गर्न, यी प्रारम्भिक संक्रमणहरू राम्रोसँग र व्यापक रूपमा सम्पर्कहरूको संवेदनशील परीक्षणको साथ प्रतिक्रिया दिनुपर्छ,’ अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका भाइरोलोजिस्ट इयान म्याकेले भनेका छन्।
जनावरबाट मानिसमा सर्ने (जुनोसिस) घटनाहरू मानिसहरूले रोग बोक्ने प्रजातिहरूको प्राकृतिक बासस्थानमा थप अतिक्रमण गर्दा वृद्धि हुने भविष्यवाणी गरिएको छ। हालैका अध्ययनहरूले जलवायु परिवर्तनका कारण जुनोसिसक घटना बढ्दै जाने बताएका छन् ।