शनिबार, आश्विन १७ गते २०८३

पर्बतारोहीहरुको संख्या यस बर्ष गत बर्षभन्दा बढी

बैशाख ४, २०७९ आइतबार
पर्बतारोहीहरुको संख्या यस बर्ष गत बर्षभन्दा बढी


काठमाण्डौ । पर्यटन बिभागले जनाए अनुसार यस बर्षको वसन्त याममा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या सात सय ३८  पुगेको छ । २१ वटा हिमाल आरोहणका लागि ७० वटा देशका सात सय ३८ जना आरोहीले अनुमति लिएका छन् ।

यसरी अनुमति लिनेमा पाँच सय ८३ जना पुरुष र एक सय ५५ जना महिला छन् । सात सय ३८ आरोही मध्ये ५५ जना नेपाली र ६ सय ८३ जना विदेशी नागरिक छन् । यो सङ्ख्या गएको वर्षभन्दा धेरै हो । गएको वर्षको वसन्त याममा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जना विदेशी आरोहीले अनुमति लिएका थिए ।

तर यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या भने घटेको बताइएको छ । गएको वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जना आरोहीले अनुमति लिएको थिए भने यो वर्ष दुई सय ६२ जनाले मात्र अनुमति लिएका छन् । कोरोनाका कारणले सन् २०२० मा आरोहण स्थगित भएकोले त्यसबेला अनुमति लिएकाहरु पनि आरोहणका लागि आउँदा अघिल्लो वर्ष सगरमाथामा केही बढी आरोही देखिएका थिए । यो वर्ष पनि अनुमति लिनेको सङ्ख्या उत्साहजनक नै रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताएका छन् ।

यस बर्ष आरोहीबाट सरकारले साढे ३९ करोड भन्दा धेरै रोयल्टी संकलन गरेको छ । अप्रिल महिनाभर पनि अनुमति लिने क्रम चलिरहने भएकोले यस वर्ष आरोहण अनुमति लिनेको संख्या अझै बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । धौलागीरि, आमादब्लम लगायतका हिमालमा आरोहण पनि शुरु भइसकेको छ । सगरमाथामा दोस्रो शिविरसम्मको बाटो खुलाइसकेको छ भने त्यसभन्दा माथि बाटो बनाउने काम भइरहेको बताइएको छ ।