शनिबार, आश्विन १७ गते २०८३

मधेस प्रदेशको प्राचीन मिथिलाञ्चलमा आज ‘जुडशीतल’ पर्व मनाइँदै

बैशाख २, २०७९ शुक्रबार
मधेस प्रदेशको प्राचीन मिथिलाञ्चलमा आज ‘जुडशीतल’ पर्व मनाइँदै

जनकपुर । सधैनै मिथिला क्षेत्रमा नयाँ वर्षको दिन ‘सतुवाइन’ र भोलिपल्ट ‘जुडशीतल’ पर्ब मनाइन्छ । बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वतको भोलिपल्ट  ‘जुडशीतल’ मनाइने मैथिल परम्परा रहँदै आएको छ ।

अनि नयाँ वर्षको परिपे्रक्षमामा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र नै आइने चलन छ  ।

यो नयाँ वर्षका दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु र माटोको अङ्खोरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूल पुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । यसलाई बोलीचालीमा ‘सतुवाइन’ भनिन्छ ।

त्यसैगरी दोस्रो दिन आज घरपरिवारका जेठो व्यक्तिले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुले उल्लेख गर्ने गरेका छन् ।