बुधबार, भाद्र ३ गते २०८३

सर्वोच्चमा बहस जारी, निर्वाचन आयोगद्वारा चुनावका लागि दल दर्ताको आव्हान

आषाढ २१, २०७८ सोमबार
सर्वोच्चमा बहस जारी, निर्वाचन आयोगद्वारा चुनावका लागि दल दर्ताको आव्हान

प्रतिनिधिसभा पुनः विघटन र प्रधानमन्त्री नियुक्तिलगायतका विरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतमा बहस जारी रहेकै अवस्थामा निर्वाचन आयोगले भने चुनावी प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन आयोगले आज प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको हाे । 

आयोगले आज एक विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय दिएको छ । 

प्रधानमन्त्री केपी ओलीको सिफारिषमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोश्रो पटक संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । आयोगले सोही अनुरुप निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

त्यसैगरी कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

आयोगले अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्ने जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।