
मधु श्रेष्ठ
मैले सानो होइन, ठूलै परिवर्तन गराएँ
नैतिकतालाई बैंकको चेक बनाएँ
आत्मा सम्मानलाई एकमुठ्ठी सिदामा बेच्न सिकाएँ ।
मैले शिक्षामा ठूलै परिवर्तन गराए
मालिक बन्ने होइन
नोकर बन्ने शिक्षा पढाएँ ।
मैले अस्पताल परिवर्तन गराएँ
अस्पताल विरामीलाई होइन
दलालको कमाउने थलो बनाएँ ।
सोझा निमुखाहरुले
एक ट्याब्लेट सिटामोल
नपाएर संसार छाड्नुपर्ने बनाएँ ।
त्यति मात्रै कहाँ हो र,
न्यायको मन्दिर मानिने
न्यायालय पनि परिवर्तन गराएँ ।
त्यसैले त, न्यायमुर्ति मानिने
न्यायाधिशहरुलाई
बिकाऊ माल बनाएँ ।
अदालतमा न्याय हरायो
दण्डहीनताको अट्हासपूर्ण हाँसोमा
पीडितहरुको रोदन बिलायो ।
त्यसरी नै मैले
कृषिमा पनि परिवर्तन गराएँ
उब्जाउ भूमिलाई काँक्राजस्तै चिरा–चिरा बनाएँ ।
भूमाफियाहरुलाई मोटाएका किर्ना बनाएँ
आफ्ना भूमि बाँझो राखी
विदेशी उत्पादनमा बाँच्ने परजीवी बनाएँ ।
साभार - मधुजीकाे मुहारपुस्तिकाबाट