शनिबार, कार्तिक ८ गते २०८३

गठबन्धन

चैत्र १५, २०७८ मंगलबार
गठबन्धन
allainces.jpg
इन्द्रनारायण सुबेदी
(अनुष्टुप् छन्द)
==========================
धोती टोपी निकालेर गुमाई सक्कलीपन
काले काले मिली भाले खाने हो गठबन्धन।१।
घरभित्रै रडाको छ परचक्रीसँगै हुन
विपरीत छ सिद्धान्त धोका हो गठबन्धन।२।
एउटाको जपी माला अर्काको लेप चन्दन
लाएका छद्मभेषीको ढर्रा हो गठबन्धन।३।
नमिल्ने जङ्गली भालु ब्वाँसाको सङ्घ नूतन
अस्वाभाविक यात्राझैँ छल हो गठबन्धन।४।
विधर्मी एक अर्काको सम्झौता र समर्थन
तासको घरजस्तै हो सत्ताको गठबन्धन।५।
लौह स्तम्भ हुने गर्छ अपराजितको मन
हुतीहाराहरू गर्छन् स्वार्थमा गठबन्धन।६।
लाउके टाउके मिल्छ्न् लुटिन्छन् तलका जन
त्यसैका निम्ति गर्ने हो चुनावी गठबन्धन।७।
============================
 
१५ चैत २०७८