बुधबार, भाद्र ३ गते २०८३

प्रा. सुवेदीको आत्मवृतान्त लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित

फाल्गुण २३, २०७८ सोमबार
प्रा. सुवेदीको आत्मवृतान्त लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित

 


लन्डन — बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको आत्मवृतान्त लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको छ । बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृह राउटलेजले उक्त ग्रन्थ प्रकाशित गरेको हो ।

'मानवअधिकार, कानुन र न्यायको क्रियाशिलताः नेपालदेखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा' नामक उक्त ग्रन्थमा सुवेदीले लमजुङबाट सुरु गरेको जीवन यात्रामा उनी कसरी अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधग्रन्थ पुरस्कारसहित विद्यावारिधि गर्ने पहिलो नेपाली बने भन्नेबारे उल्लेख छ ।

यस्तै अक्सफोर्डबाटै कानुनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने विरलै व्यक्ति, न्याय र कानुनको क्षेत्रमा संसारकै प्रतिष्ठित व्यक्तित्व र सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पाउने नेपाली बन्न पुगे भन्ने विवरण पुस्तकमा समावेश छ ।

कवि भूपी शेरचनको 'यो नेपाली शीर उचाली...' गीतबाट सानैदेखि प्रभावित प्रा. सुवेदीले लमजुङबाट काठमाडौं हुँदै संसार लम्किने क्रममा उनले गरेका काम, प्राप्त गरेका उपलब्धि, जीवनका आरोह-अवरोह, संघर्षका गाथा र मानव अधिकार तथा न्याय र कानुनको क्षेत्रमा नेपाल र संसारलाई दिएको योगदानको संगालो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।

बेलायती महारानीबाट 'अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर' (ओबीई) उच्चस्तरको उपाधि पाउने पहिलो नेपाली पनि हुन् सुवेदी । यस्तै बेलायतका प्रखर कानुनविदहरुले पाउने 'कुइन्स काउन्सेल' उपाधिसमेत प्रा सुवेदीले प्राप्त गरिसकेका छन् ।

सुवेदीको आत्मवृतान्तमा एक अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्वको रूपमा उनले कसरी जीवनयापन गर्दैआए ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका विभिन्न भूमिकामा रहेर कस्तो योगदान दिए भन्नेबारे पनि प्रकास पारिएको छ ।


नेपाल, बेलायत, अमेरिका लगायत पाँच देशका सात वटा विश्वविद्यालयमा प्राध्यापन गरेका सुवेदीका कृतिहरू विभिन्न देशका भाषामा अनुदित भई प्रकाशन भएका छन् । उनको 'पूर्वीय सभ्यतामा मानव अधिकार' पुस्तक अन्तर्राष्ट्रिय रूपमै चर्चित मानिन्छ । जसमा उनले नेपाललाई प्राचीन कालमा किन ज्ञानभूमि र तपोभूमि भनेर चिनिन्थ्यो, के कारणले नेपाल पूर्वीय सभ्यताको उद्गम स्थल हो र कसरी नेपालले भारतीय र चिनियाँ सभ्यताको सम्बन्ध सेतूको रूपमा भूमिका निर्वाह गरेको थियो भन्ने उल्लेख गरेका छन् ।

उनले मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा दिएको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयले उनको नाममा वार्षिक स्थायी पुरस्कार समेत स्थापना गरेको छ । साथै क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उनी नोवेल पुरस्कारका लागि मनोनयन भएकोबारे पनि उक्त पुस्तकमा समावेश छ ।

नेपालमा जनमत संग्रहका लागि प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेका प्रा सुवेदीले दोस्रो जनआन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्वाह गरेका थिए । मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले प्रा सुवेदीलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको पदमा मनोनित गरेको थियो ।

उनलाई अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन उल्लेख्य योगदान पुर्‍याएको र स्वयं पनि ख्याति प्राप्त गरेको व्यक्ति भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभाले मानार्थ प्राज्ञ निर्वाचित गरेको थियो ।

साभार कान्तिपुर अनलाइन  : फाल्गुन २२,