
लाेकनारायण सुबेदी
कमरेड एकराज पाण्डेले लेखेको ‘मैले देखेको र भोगेको कम्युनिष्ट आन्दोलन’ शीर्षकको एउटा किताब गएको मंसिर २५ गते सार्वजनिक भएको छ । एक जमानामा सशक्त रहेको तर आज बिश्व र नेपालको कम्युनिष्ट आन्दोलन पनि रक्षात्मक र कमजोर अबस्थाबाट गुज्रिरहेको तथा यसमा बिभिन्न बिकृति, बिसंगति, बिग्रह र बिखण्डन ब्याप्त भइरहेको स्थितिमा यस प्रकारको अनुभवजन्य किताब प्रकाशित हुनु कम्युनिष्ट आन्दोलनका अध्येता, अनुसनधानकर्ता र आन्दोलनकारीहरुका लागि एउटा गतिलो सन्दर्भ सामाग्री श्रोत बन्ने कुरामा शायदै दुइ मत होला । त्यसमा पनि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता, मार्गदशक र यस आन्दोलनका एक सिद्धान्तनिष्ठ, शालीन र सतीसाल जस्ता अडीग ब्यक्तित्व कमरेड पुष्पलालको नेतृत्वमा रहेर काम गरेका कमरेड एकराज पाण्डेले कमरेड पुष्पलालमा समर्पित यस प्रकारको कृति प्रकाशित गर्दा त्यसप्रति चासो र रुची हुनु र देखिनु पनि स्वभाविकै हो ।
तीन बर्ष जति अघि अलि भिन्न परिबेश र शीर्षकमा यस्तै प्रकारको एउटा कृति कमरेड पुष्पलालकै नेतृत्वमा काम गर्नु भएका अर्का मित्र कमरेड गोपाल पोखरेलले पनि प्रकाशनमा ल्याउनु भएको थियो । उहाँको आफ्नै जीवन यात्राकोरुपमा आएको संस्मरणात्मक त्यो कृति ‘बर्मादेखि नेपालसम्म’ प्रकाशित गरेर उहाले आफ्नो जीवनका उतार चढावका बिबिध कुराका अतिरिक्त नेपालको कम्युनिष्ट आन्दोलनलाई त्यस मार्फत चियाउने काम गर्नु भएको छ । उहाँले पनि नेपालको तत्कालीन परिबेश, नेपालीहरु प्रबासिनुका कारण तथा नेपालको राजनीतिक बिकासमा कम्युनिष्ट पार्टीको उदय र यसमा आएका सकारात्मक तथा नकरात्मक प्रबृत्तिका बारेमा उल्लेख गर्नु भएको छ । कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिन कम्युनिष्टहरु चिन्तन, चरित्र र ब्यवहारमा अब्बल बन्न नसकेसम्म यसले सही बाटो र दिशा लिन सक्तैन र यिनै कुरा कमरेड पुष्पलालबाट सिक्न र सिकाउन सक्यो भने जनता र राष्ट्रको मुक्ति र प्रगतिमा कम्युनिष्ट आन्दोलनले सर्बाधिक योगदान दिन सक्छ भन्ने सार उहाँले खिच्न खोज्नु भएको छ ।
यहाँ नेपाल र बिश्वको कम्युनिष्ट आन्दोलनका बारेमा कमरेड एकराजले पनि आफुले भोगेका, देखेका र अनुभव गरेका कुराहरुमाथि सामान्य टिप्पणी गर्न खोजिएको छ । आफ्नो पुस्तकमा उहाँले ‘कार्ल मार्क्स र नेपाल’ ‘नेपाल कम्युनिष्ट पार्टीको पाँचौं सम्मेलन’ ‘कमरेड पुष्पलालसँगको अन्तिम भेट’ ‘भारतीय स्वतन्त्रता सेनानी कृष्णशंकर श्रीवास्तव’ ‘जनमत संग्रहमा नेपाल कम्युनिष्ट पार्टी’ ‘पोल्याण्ड संकटले खडा गरेका प्रश्नहरु’ ‘नेपाल कम्युनिष्ट पार्टीको छैठौं राष्ट्रिय सम्मेलन’‘बहुदलीय जनबाद : नेपाली जनक्रान्तिको गतिरोक्ने प्रयास’ ‘सोभियत संघको पत्तन पछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन’ जस्ता शीर्षकमा आफुलाई लागेका कुराहरु प्रकाशमा ल्याउनु भएको छ । यी शीर्षकहरु उहाँको मनमा कम्युनिष्ट आन्दोलनका बिषयमा तत्काल खट्किरहेका बिषयहरु हुन् भन्दा फरक नपर्ला । उहाँले तत्कालीन बिश्व घटना क्रम र नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भलाई जोड्न खोज्नु भएको छ जुन कम्युनिष्ट आन्दोलनको बस्तुगत बिश्लेषणको आधार हुने गर्दछ नै । यस प्रकारको बिश्लेषणले बिश्वमा र त्यसको एक अंग नेपालमा पनि तत्कालीन अबस्थामा के भइरहेको छ भन्ने कुरामाथि प्रकाश पार्दछ । यसले बिश्व कम्युनिष्ट आन्दोलन र नेपालको आन्दोलनको स्थिति र गति के कस्तो अबस्थामा रहेको छ र हुन्छ भन्ने संकेत पनि गर्दछ ।
लेखकहरुका आफ्नै रुची र महत्वका बिषयहरु छनौट गर्ने कुरा हुन्छ नै । तर नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा कुरा गर्दा नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको औचित्य, आधार र आबश्यकता, देश र जनताको मुक्ति र प्रगतिका लागि त्यसले अघि सारेका मूलभूत अबधारणाहरु र त्यसलाई प्राप्त गर्ने मूलबाटो र ब्यबधानका बिषयलाई प्रष्ट पार्ने जुन कुरा कमरेड पुष्पलालले प्रष्टसँग अघि सार्नु भएको छ, थियो र त्यसलाई तोडमोड गर्न के कस्ता गतिबिधिहरु भए गरिए त्यसलाई आज अझ बढी उजागर गर्नु पर्ने आवश्यकता जुन छ यस कृतिमा केही कुराहरु समावेश भए पनि जस्तो कि नयाँ जनबादी कार्यक्रम र राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम, मनमाेहन समूहसँगको एकताले ल्याएको बिचलन र बहुदलीय जनबाद आदिजस्ता कुराहरु यस कृतिमा समावेश छन् । त्यसैगरी कतिबेला कस्का बिरुद्ध लड्नु पर्ने हो र अघि बढ्नु पर्ने हो जस्ता कार्यनीतिका बारेमा र खाशगरी जनमत संग्रहमा कस्को भूमिका कस्तो रह्यो भन्ने कुरा पनि यसमा समावेश छ । यसले बिगतको इतिहासमा र आज पनि कुन बाटो ठिक र कुन बेठिक किन हो भन्ने कुरा ठम्याउन मद्दत गर्दछ । प्रष्ट छ, गलत कार्यक्रम र कार्यनीतिले कम्युनिष्ट आन्दोलनमा बिकृति र बिसंगति ल्याएको कुरा नेपालमा हिजो र आज पनि जग जाहेर छ । नेपालमा आज पनि सामन्ती दलाल नोकरशाही पूँजाीवादी सत्ता र नेपाली जनताको बिचको अन्तरबिरोध, भारतीय एकाधिकार पूँजीवाद(जो प्रभूत्वबाद, हैकमबाद र बिस्तारबादकोरुपमा प्रकट हुने गर्दछ) र नेपाल बीचको अन्तरबिरोध र बिश्व साम्राज्यबाद र नेपाली जनताका बीचको अन्तरबिरोध अर्थात अर्ध सामन्ती र नब औपनिवेशिक तथा अर्ध औपनिवेशिक स्थितिबाट मुक्तिको समस्या हल नभएको र त्यसले नेपाललाई कमजोर, पराश्रयी र अधपत्तनको बाटोतिर धकेलिरहेको कुराले कम्युनिष्ट आन्दोलनको धरातल कसरी खस्किएको छ भन्ने कुरा दर्शाउँदछ । कमरेड एकराजले यी गम्भीर र आधारभूत बिषयमा अझ पनि प्रखर किसिमले कलम चलाउनु पर्ने देखिन्छ ।
के कुरा प्रष्ट भइसकेको छ भने कम्युनिष्ट आन्दोलनभित्र घुसे घुसाइएका अनेक थरीका संशोधनबादी अवसरबादीहरुले कमरेड पुष्पलाललाई यस आन्दोलनको शुरुदेखि उहाँको जीवनको अन्त्यसम्म अनेक फत्तुर लगाएर बिरोध गरे, दस्ताबेज लेखे र जन्मैदेखिको जोडबल लगाएर बिरोध गरे पनि ती सबै कुरा गलत साबित भए । जुन बेला सामान्यत त पार्टी स्थापना भएदेखि नै र खाशगरी २०२५ सालदेखि ३५ सालसम्म कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिन उहाँले खेल्नु भएको सर्बाधिक सक्रिय र महत्वपूर्ण भूमिकालाई तिरष्कार गर्ने जुन योजनाबद्ध काम गरियो त्यसबाट सही शिक्षा नलिई बर्तमान कम्युनिष्ट आन्दोलनले फेरि पनि सही दिशा र गति पाउन सक्तैन । किनभने नेपाली क्रान्तिको साँङ्गोपाङ्गो कार्यक्रम नयाँ जनबादी कार्यक्रम दिने, कम्युनिष्ट पार्टी र यसको कार्यपद्धतिको मार्गदर्शन गर्ने, बामपन्थी एकता र संयुक्त मोर्चा तथा संयुक्त जन आन्दोलनको नीति प्रतिपादन गर्ने र प्रष्ट पार्ने, बुद्धिजीवीहरुलाई मार्क्सबादी बिश्व दृष्टिकोणका आधारमा नेपालको अर्थ–राजनीतिक र सामाजिक–साँस्कृतिक क्षेत्रमा बिकल्प निर्माण गर्ने सन्दर्भमा भूमिका खेल्न ठोस आह्वान गर्ने, नेपाली कम्युनिष्ट आन्दोलनको समीक्षा(१८ बर्षको सिंहालोकन) र नेपाली जन आन्दोलनको समीक्षा गर्ने, किसान आन्दोलनको पुन:समीक्षा गर्दै यसको घोषणा र नीतिको प्रतिपादन गर्ने तथा बिश्व कम्युनिष्ट आन्दोलनमा संशोधनबाद र नब संबोधनबादका बिरुद्ध प्रष्ट र दृढरुपमा खडा हुने जस्ता कमरेड पुष्पलालले चिन्तन, चरित्र र ब्यवहारबाट प्रष्ट पारेका कुरामा आज क्रान्तिकारी कम्युनिष्टहरुले अझ बढी प्रष्ट हुुनपर्ने राष्ट्रिय आवश्यकता छ । यी सबै कमरेड एकराजले देखे भोगेकै कुरा हुन् भन्ने लाग्छ ।
जहाँसम्म नेपाल कम्युनिष्ट पार्टीको पाँचौ सम्मेलनको कुरा छ त्यो कुशी नगरमा भएको भन्ने बारेमा त्यस सम्वन्धि आधिकारिक दस्ताबेजहरुको अभावमा प्रामाणिकरुपमा भन्न सकिने अबस्था छैन । यो कुरा स्वयं लेखकले पनि स्वीकारेकै छ । त्यो सम्मेलन भएको भए त्यसपछि कमरेड पुष्पलाल सख्त बिमारी नपरुञ्जेल अर्थात २०३५ साल जेष्ठ १५ गतेसम्म उहाँले त्यो कुशीनगरको कार्यक्रम पछि पार्टी क्याडर र कार्यकर्ताका बिचमा जुन पार्टी कक्षा नियमितरुपमा कहिले कहा कहिले कहाँ सञ्चालन गर्नु भएको थियो त्यो भेला या सम्मेलनका बारेमा उहाले अबश्य पनि उल्लेख गर्नु हुन्थ्याे र प्रष्ट पार्नु हुन्थ्यो । किनभने भए गरिएका त्यस्ता कमरेड पुष्पलाल स्वयं उपस्थितु भएका कुनै पनि सम्मेलनमा उहाँले त्यससँग सम्वन्धित दस्ताबेजहरु प्रस्तुत अबश्य गर्नु हुन्थ्यो र ती प्रकाशित हुन्थे अनि त्यस्ता सम्मेलनको महत्वका बारेमा पछिल्ला भेला, प्रशिक्षण आदि आयोजना हुँदा थप चर्चा हुने गर्दथ्यो भन्ने कुरा जग जाहेर छ । तथापि ती कतै अप्रकाशित रहेका छन् भने तिनको खोजी र प्रकाशन गरिदा अन्यौल भएका कुराहरु प्रष्ट भएर जान्छन् ।
सामन्ती अधिनायकबादी पञ्चायती कालमा पार्टी प्रतिबन्धित भएको त्यो कालखण्डमा प्रबासमा, जेलमा र भूमिगत रहेका नेता कार्यकताहरुका बारेमा पनि कमरेड एकराजलाई थाहा नभएको अबश्य होइन । तर यो पुस्तकमा ती कुराहरु पनि छुटेका छन् भन्ने मलाई लागेको छ । त्यसका साथै २०३३ सालमा क्रान्तिकारी सर्बहारा बर्गका गुरु चिनीयाँ क्रान्तिका अप्रतिम नेता कमरेड माओको निधन हुँदा नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डौ हात्तीसार स्थित चिनीयाँ राजदूतावासमा शाेक जुलुश सहीत गएर कमरेड माओप्रति श्रद्धासुमन ब्यक्त गरेको एउटा महत्वपूर्ण कुरा पनि त्यस कृतिमा समावेश हुन सकेको भए अझ राम्राे हुने थियाे ।
कृतिमा भारतीय स्वतन्त्रता सेनानी कृष्ण शंकर श्रीबास्तबको भूमिका र नेपाल भारत जन–सम्बन्धका बारेमा जुन जानकारी छ त्यसले दुइ देशका जनताका बीच त्यस्तो सुमधुर सम्वन्धको बिकास आज पनि उत्तिकै आवश्यक छ भन्ने कुरा ज्ञात गर्न सकिन्छ । अन्त्यमा कमरेड एकराजलाई यस्ता उपयोगी थप कृतिहरु अरु पनि प्रकाशन गर्ने अग्रसरता मिलोस् भन्ने शुभेच्छा सहीत बिवेचनालाई बिश्राम दिन्छु ।