शनिबार, आश्विन १७ गते २०८३

 युद्धको स्थिति र कूटनीतिक पहलका बीच यूक्रेन

माघ २७, २०७८ बिहीबार
 युद्धको स्थिति र कूटनीतिक पहलका बीच यूक्रेन

यतिबेला यूक्रेनलाई लिएर एकातिर ठूलो युद्धको सन्मुख खडा हुँदै गरेको देखिन्छ भने अर्कोतिर यस्तो आशंकाबीच पनि निकै ठूला कूटनीतिक पहलहरु पनि चलिरहेको देखिन्छ । यस कूटनीतिक पहलको सन्दर्भमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रो गएको सोमबार मास्को पुगेका थिए । यसैबीच जर्मनी चान्सलर ओलफ सोल्ज वाशिङ्गटन गएर अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटघाट गरेका थिए । यद्यपि जर्मन चान्सलर शाेल्जको अमेरिका गमनको उदेश्य यूक्रेन समस्यामा नाटोमा कुनै आन्तरिक मतभेद र अन्तरविरोध छैन अनि जर्मनी यस मुद्दामा नाटोकासाथ अगाडि बढ्न हिच्किचाइरहेको छैन भन्ने कुरा साबित गर्नका लागि थियो भन्ने जग जाहेर छ । हुन पनि आपसी भेटघाट पछि जोड बाइडेन र शोल्ज दुबैले परस्पर ऐक्यबद्धता जनाउदै यूक्रेन मामिलामा उनीहरु सबै एक साथ रहेकाे जनाएका छन् ।

तर अमेरिकामा यो एकता प्रदर्शन गर्दै गर्दा उता मास्कोले पनि विश्वको ध्यान खिचिरहेको थियो । किनकि त्यतिबेलै मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटीन र फ्रान्सका राष्ट्रपति म्याक्रो परस्पर भेटबार्ता गरिरहेका थिए । नाटोको बढ्दो दबाबका बीच यूक्रेन सीमानामा एक लाख तीस हजार सैनिकहरुको जमघट भइरहे पनि मास्कोले बारम्बार के भनिरहेको छ भने यूक्रेनमा सैनिक हस्तक्षेप गर्ने उसको कुनै इरादा र आकांक्षा छैन । अमेरिका र उसका मित्र यूरोपेली देशहरु मास्कोको यो भनाइ सही हो भने आफ्ना सैनिकहरु यूक्रेन सीमाबाट फिर्ता गर भन्ने दबाब दिइरहेका छन् । तर रुस यसका लागि तयार देखिदैन । उसले यसका लागि यूक्रेन र अन्य पूर्ब सोभियत राष्ट्रहरुलाई नाटो (नर्थ एटलाण्टिक ट्रिटी अर्गनाइजेशन) मा सामेल गरिने छैन भन्ने शर्त र प्रतिबद्धताको माग गरिरहेको छ । अनि त्यस्तो कुनै प्रतिबद्धता जाहेर गर्न र शर्त मान्न अमेरिका र यूरोपेली देशहरु राजी देखिदैनन् । त्यसैले नाटोका सैनिकहरु पनि त्यस क्षेत्रमा खडा छन् र थपिदैछन् । अनि त्यहाँ तनाबपूर्ण र युद्धजन्य परिस्थिति बनिरहेको छ । यद्यपि त्यहाँ युद्धकै स्थिति आउनु चाँही यतिबेला कुनै पक्षका लागि पनि सकारात्मक र राम्रो हुँदैन भन्ने रणनैतिक तथा राजनैतिक बिश्लेषकहरु औंल्याइरहेका छन् । 

किनभने रुसबाट ग्यास आपूर्तिमा ब्यवधान खडा हुनजाँदा जर्मनी र अन्य यूरोपेली देशहरुले ठूलो समस्या बेहोुर्न पर्ने हुन्छ भने अनि चीनलाई बिश्वबाट एक्ल्याउने र अलग्याउने अमेरिकी रणनीति पनि त्यसबाट प्रभावित हुनजान्छ । यो निश्चित हो कि घरेलु राजनीतकि बाध्यताका कारण अमेरिकी राष्ट्रपति यतिबेला रुसका सामु कुनै पनि रुपमा झुकेको देखिने जोखिम मोल्न तयार हुन सक्तैनन् । अर्कोतिर अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्दाको निर्णयले उनको छबि पहिले नै खस्किएको स्थिति छ ।        

परिस्थितिमा उपयुक्त कूटनीतिक पहल नै सबैका लागि सुरक्षित अबतरण र राहतको सही बाटो साबित हुनसक्छ । स्मरणीय के रहेको मानिदैछ भने फ्रान्सबाट मास्को उड्नुभन्दा पहिला म्याक्रोले पुटीनसँग तीन पटक फोनमा कुराकानी गरिसकेका थिए । उनको जो बाइडेनसँग पनि फोनमा लामो कुराकानी भइसकेको थियो । यद्यपि भेटघाट हुनु पहिला दुबै पक्षले के प्रष्ट पारेका थिए भने यी कूटनीतिक बैठकबाट तत्कालै कुनै समाधान निस्केला भनेर अपेक्षा गर्न सकिदैन । त्यसैले पनि होला भेटघाट पछि बातचितको कुनै औपचारिक ब्यहोरा सार्बजनिक गरिएन । तर पनि कुनै पक्षले यसप्रति निराशा पनि प्रकट गरेको पाइदैन ।

यद्यपि पहलकर्ता म्याक्रोले निश्चय नै के भनेका छन् भने आउँदा केही दिनहरु निकै महत्वपूर्ण हुनेछन् । दुवै पक्षमा कतिपय विषयलाई लिएर केही सहमति अवश्य बनेको हुुनपर्दछ तर यसमा धेरै काम गर्न बाँकी देखिन्छ। विश्लेषकहरु भने यो कूटनीतिक बार्ताको पहलले आगामी दिनमा हुने विस्तृत वार्ताको लागि आधार तयार गर्ने अपेक्षा गर्न सकिन्छ जसमा खडा भएर दुबै पक्ष बीच सहमतिको पुल बनाउन कठिनाई नहुने बताइरहेका छन्। एउटा खतरनाक युद्धको जोखिमबाट विश्व जोगिने आशा गरौं !