काठमाडौं । प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुनस् एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख गरिएको छ । स्रोतका अनुसार मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु एकमत नभएकाले प्रतिनिधिसभाको बैठक सारिएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकले एमसीसीबारे ठोस निर्णय गरेपछि संसद बैठक बोलाउनु उपयुक्त हुने भन्दै माओवादीले बैठक सार्न लगाएको स्रोतको दावी छ ।
यसभन्दा पहिला माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।
यसै बीच एमसीसी सम्झौता पारित गर्नका लागि भनेर बोलाइएको संसदको बैठक स्थगित भएपछि त्यस सम्झौताका बिरुद्ध यही माग २६ गते हुने भनिएको बिभन्न २२ दल र संगठनहरूकाे संयुक्त बिरोध सभा पनि अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ ।