शनिबार, आश्विन १७ गते २०८३

अन्यायीसँग एक्लै समरमा ओर्लेर भिड्ने तिमी

माघ १४, २०७८ शुक्रबार
अन्यायीसँग एक्लै समरमा ओर्लेर भिड्ने तिमी
Shahishukra.jfif
अमर शहीद शुक्रराज शास्त्रीकाे सम्झनामा 
Shahishukra.jfif
 
इन्द्रनारायण सुवेदी
(शार्दूलविक्रीडित)
 
=============================
तिम्रो चिन्तन उच्च शैलसरिकोआदर्श त्यो कञ्चन
तिम्रो हिम्मत अन्त्यहीन बलियो यो देश को स्पन्दन
तिम्रो जोस र देशभक्ति गहिरो आकाश जत्रो मन
त्यो चोखो बलिदानबाट बनियो हाम्रो नयाँ जीवन।१।
 
बल्दो दीपक शुक्रराज युगको चिर्दै अँध्यारो सब
घन्कायौ जनमुक्ति सार्थक हुने आवाज नौलो जब
गोलीको प्रतिकार गर्न सजिलै थापेर छाती पनि
बाँच्यौ प्राण लियो रह्यौ भुवनमा मर्दै नमर्ने बनी।२।
 
तिम्रो तागतले अझै पनि यहाँ नेपाल थर्काउँछ
त्यो स्वाधीन र दीप्त उज्ज्वल नयाँ नेपाल फर्काउँछ
माटोमा छ सुगन्ध त्यो रगतको आलो निसाना बनी
तिम्रो प्राण बनेर बग्दछ सधैँ त्यो सप्तकोसी पनि।३।
 
हत्यारो घरको प्रवञ्चक कुनै लुच्चो फटाहा अनि
खोटो सर्मविहीन भै सहिदको गर्दैछ दाबी पनि
त्यस्ता घातकको छ आज घरमा हालीमुहाली अब
तिम्रो नाम भजाउने र दुहुने गर्छन् यहाँ गौरव।४।
 
आस्था हौ अनुराग हौ हृदयका आराध्य हौ कञ्चन
अत्याचार सहेर बस्न कहिल्यै मानेन तिम्रो मन
केही कायरका सिकार बनियौ अर्पेर त्यो जीवन
त्यो तिम्रो उपहारको छ महिमा स्वाधीन हाम्रोपन।५।
 
बिक्दैनन् जनता बिके पनि यहाँ जल्लादका नायक
देशी नोकर जन्मसिद्ध भतुवा पाखण्ड नालायक
तिम्रो उज्ज्वल कीर्तिको अमरता नेपालले गाउँछ
ज्यूँदै छौ अझ शुक्रराज युगले बिर्सिन्न सम्झाउँछ।६।
 
सिङ्गो राष्ट्र र जन्मभूमि दिलमा बोकेर हिँड्ने तिमी
अन्यायीसँग एकलै समरमा ओर्लेर भिड्ने तिमी
वैरीसामु परास्त बन्न रणमा मान्दै नमान्ने तिमी
छोडी डेग गिरेर झुक्न पथमा जान्दै नजान्ने तिमी।७।