शनिबार, आश्विन १७ गते २०८३

यो प्रजा परिषद बन्दीमा, अन्धकारमा, नारकीय राज्यमा जन्मेको कृष्ण भगवान हो : शहिद धर्मभक्त

माघ १२, २०७८ बुधबार
यो प्रजा परिषद बन्दीमा, अन्धकारमा, नारकीय राज्यमा जन्मेको कृष्ण भगवान हो : शहिद धर्मभक्त
dharmabhakta.jpg
चन्द्रमणि गाैतम
     
धर्मभक्त माथेमा (वि.सं. १९६५) : काठमाडौँ जोरगणेश निवासी माथेमा खलक दरबारसँग हिमचिम भएको खातापिता परिवार थियो । धर्मभक्तका पिता आदिभक्त राणा शासनका सुब्बा थिए, र राणाहरूको आवश्यकताका सामग्री किनमेल गर्न उनी कलकत्ता (भारत) गईरहन्थे । वि.स.२००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा आदिभक्तले पनि काँग्रेसलाई आर्थिक सहयोग/चन्दा दिए । छोरा धर्मभक्तले उतै (पहिले दार्जिलिङ मा र पछि कलकत्तामा) पढ्ने अवसर पाए ।
       
धर्मभक्त बंगाल च्याम्पियन शारीरिक सुगठक (बडी बिल्डर) थिए । उल्लेखनीय तथ्य यो पनि छ, शहीद धर्मभक्त र उनलाई मार्ने नर शम्शेर कलकत्तामा पढ्दाका साथी थिए । उनले घोडेजात्राको बेला टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित भएका रहेछन् । नर शम्शेर पनि धर्मभक्तको घरमा शारीरिक सुगठन तथा खेलकुदको अभ्यासका लागि जानेआउने गर्थे ।भनिन्छ, नर शम्शेरले नै धर्मभक्तलाई राजा त्रिभुवनको खेल प्रशिक्षकका रुपमा लिन सिफारिश गरे ।
       
धर्मभक्त खेलकूदका अतिरिक्त राजनीतिमा पनि त्यति नै इच्छा राख्दथे । बंगालमा बस्दा त्यहाँका स्वतन्त्रता सेनानी चित्तरन्जन दाससँग उनको भेट र क्रमशः घनिष्ठता बढ्दैगएको थियो । धर्मभक्त उतै आफ्नो व्यवसाय गरेर स्थायी बसोबास गर्न चाहन्थे । तर बीचमा त्यो योजना स्थगित भयो । उनी काठमाडौँ फर्किए ।
       
राजा त्रिभुवनको खेल प्रशिक्षक रहेकै बीच एक दिन राजा र प्रजापरिषदका नेताहरूको लैनचौरमा गोप्य बैठक भएको सूचना जुद्ध शम्शेरकहाँ पुगेपछि उनले आफ्नो रौद्र रुप देखाए । उनको उपरोक्त भनाई राजा त्रिभुवनसँगको भेटमा अभिव्यक्ति हो भनी ईतिहासकार भूवनलाल प्रधानले मसँगको भेटमा भन्नुभएको थियो ।
       
लैनचौरको त्यो भेटघाटपछि धर्मभक्त गिरफ्तार भए । उनलाई पनि राजद्रोहको जघन्य अपराध गरेको अभियोग लगाईयो । माघ १२ गते राती १२ बजेतिर पशुपतिनाथ जाने बाटो सिफलमा उनलाई फाँसीमा चढाईयो ।
 
बडीबिल्डर भएको कारण उनको प्राण जान निकै गाह्रो भएको थियो । मर्नुअघि पिशाब छोड्नु, नाक–मुखबाट अलिअलि रगत बग्ने स्थिति भयो ।