शनिबार, आश्विन १७ गते २०८३

बन्दिपुर बजारको पश्चिम र म

माघ ९, २०७८ आइतबार
बन्दिपुर बजारको पश्चिम र म
Drmathura.jpg
मथुरा श्रेष्ठ
बन्दिपुर, म हुर्केको गाउँ। खड्ग देवी मन्दीर मुनि पाठशालामा पढदा पढ्दै चीत्रको सामुन्ने मुनीको घर, पहिलो बन्दिपुर प्राइमरी स्कूलमा पहिलो भर्ना भई पढ्नेहरू मद्धे म एक हुँ। तेतिबेला हामीलाई गाईखानेहरूको भाषा पढन थाल्यौ भनी गिज्याउने गर्थ्यो धेरैले। तेस स्कूलको माष्टर दार्जिलिङ बाट आउनु भएको मानबहादुर छेत्री र उहाँको श्रीमती (नाम चाही बिर्सें) लाई पनि मैले बिर्सेको छैन।
बन्दीपुर प्राइमरी स्कूलको त्यो पाटीको अगाडी पहिले एक नाइसरको सुन्दर बोट थियो जुन हर बसन्तको आगमन संगै फुल्दथ्यो बन्दिपुर बजार भर वसाउने गरी। तेसको मोहरिया जाने बाटोसंग जोडिएको एक साइडमा दुई पेटी बनाई चिनिएर स्थीर बनाएको थियो। तल्लो पेटीमा भारी बोेकेर आउनेहरू भारी बिसाएर आराम गर्दथे भने माथिको अग्लो पेटी र बाटा छेउमा बन्दिपुरका युबकहरू लहरै बसेर खुट्टा हल्लाउँदै, गफ गर्दै तल ग:ले टोल देखि नाइसर बोटको प्रांगणसम्मको सुन्दर दृष्य र मानिसहरूको चहलपहल अवलोकन गर्दै रमाउने गर्दथ्यो।
यो परिदृष्य मेरो स्मृतिमा जब्बर टाँसि रहेको कारण तेहि लहरहरूबाट बराबर सुरू र बैठान हुने एउटा बिबाद थियो। एक थरी भन्थे त्यो नाइसरको रुख काटी तलसम्म बनाउनु पर्छ भने अर्को थरी बन्दिपुरकै सोभा बनेको किन काट्ने, काट्नु हुन्न। फेरी अर्को एक थरि नाइसर काटेर चाँपको बोट रोपे राम्रो हुन्छ भन्थे। तेसको खण्डन अर्को दुबै थरीले चाँपको बोट पछि अजंग भएर समस्या हुन्छ भनि खण्डन गर्थे। धेरै बर्ष पछि काठमाण्डुबाट फर्कंदा त्यो रुख काटिसकेर नामोनिसाना मेटिएको हेर्नुपर्दा निक्कै नमज्जा लागेको थियो।
 
त्यो स्कूल मेरोलागी ज्यादै स्मरणीय भएको कारण स्कुलको उत्तर पट्टि अगाडी कबिराज राम प्रसाद अधिकारी बसेको घर थियो। घर अगाडी डबलीमा टन्न घाम लाग्ने भएकोले हामी स्कुलको हाफटाईममा त्याहाँ घाम ताप्ने र खेल्ने क्रममा राम प्रसाद जी संग चिनजान भो। वाहाँले लेख्नु भएको आयुर्बेद बारे एउटा किताब किन्न लगाउनु भो र त्यो किताब पढाउन थाल्नु भो। पछि त सनिबार र अन्य बिदाको दिन बिहान नुहाई धुआई पछि सो किताब लिएर वाहाँकहाँ दौडेर गई पढन थालें। वाहाँको आग्रहमा सबै भन्दा बेसी दोहर्याउँदै पढेर बुझ्न खोजेको किताब सायद तेही थियो। यद्यपि तेस किताबको नाम लगायत राम प्रसाद जी को बारे अरू सब सम्झन नसके पनि वाहाँले मलाई सिकाउनु भएको केही आधारभूत कुराहरू बिर्सेको छैन। (तेसो त आइएमओमा पहिले मेरो बिभागमा लेक्चरर भई स्वास्थ शिक्षण ब्यवसाय सुरु गर्नु भई पछि डीन सम्म हुनु भएको रमेस कान्त अधिकारी बाट थाह भो राम प्रसाद जी त वाहाँको बुबा हुनु हुंदो रहेछ।) पहिला त नाडी कसरी छाम्ने र तीन औंलाले नाडी छामेर सरीरको बात, कफ र पित्त का दोषहरू थाह पाउने खूबी खूब सिकाउनु भो। कसरी नाडी छामेर चाल, चाप र धारको अन्दाज गर्न खूब कोसिस गरे पनि म तेसमा क्षमता भने हासिल गर्न सकिन। तर नाडी छामेर सरीरको अन्तरंग थाह पाइने कुरा रहेछ भनि बिर्सन भने सकेको छैन। वहाँले सिकाएको अर्को कुरा "कण्टकेण कंटक" सिद्धान्त रोचक र उपयोगी लाग्यो। तेश्रो कुरा वाहाँले कण्ठ पार्न लगाएको श्लोक बिर्सि सके पनि तेसको सिद्धान्त - सन्सारमा भएको सबै बनस्पति बोट बिरुबा यस्तो हुन्न जसमा औषधीय गुण र अमृत तत्व हुन्न। र तेस्तै, यस्तो बोट बिरुवा पनि हुन्न जसमा बीषको भाग नहोस्। गुण दोषको प्रकृति र मात्रा बुझी बोट बिरुवामा हुने औषधीय र अमृत भागलाई सोध गरि कसरी प्रबलीकरण र अधिकतम गर्नु नै औषध शास्त्रको प्रमूख उद्देस्य हो भनि भन्नु हुन्थ्यो। यसै संग संबन्धीत जडिबुटीको औषधिय मात्रा तेस जडिबुटीको आयु, हुर्कने वातावरण र प्रकृति, मौसम र ऋतु, निकालेको दिनको घडी, जरा, काण्ड, पात, कोपिला, फूल, बीउका भागमा विभिन्न मात्राको औषधीय गुण हुने गर्छ। अर्को कुरा वाहाँले सिकाउन खोज्नु भएको कुरा स्वास्थ्य भनेको स्वयम् स्थापित हुन सक्ने चेतना, ज्ञान, सीप र क्षमता सुनिश्चित गर्नु हो र तेस्तै उपचार पनि सकभर सबैले घर वरपरको बारी, कान्ला, जंगल आदीमा रहेको जडिबुटी चिनी उपचार गर्ने गराउन सक्ने नै आयुर्बेदीय चिकित्सकको ध्येय हुनु पर्छ भन्नु हुन्थ्यो।
वाहाँले मलाई केही औषधी बनाउन पनि सिकाउनु भएको थियो। कांसको थालको उल्टो पट्टि नौनी राखी मसिनो गरि धुलो परिएको गण्ढक र नीम पत्ताको धुलो बेस्सरी घुमाई घुमाई हातले फेटेर लूताेको औषधि बनाउने। मिस्रि, सुकुमेल, पिपला आदि पिनेर मिलाई सेतो पिपलादि बनाउने। अष्टमालिका (अष्टअम्लीका) चूर्ण बनाउने आदि।
 
वाहां बसेको घर डबली बिर्सि नसक्नु अर्को कारण हो एक दिन धाम ताप्दै राम प्रसाद जीको कुरा सुन्दै गर्दा बन्दीपुरको सबै भन्दा पहिले एसएलसी पास गर्नु भएको त्याहाँको प्रतिस्थित मध्ये एक लाल प्रसाद खर्दारको छोरा श्याम कृष्ण प्रधान र दुई तीन बडाहरूबाट पनि घाम ताप्न आउनु भयो। कबिराजले हामी सबलाई वाहाँबाट प्रेरणा लिएर धेरै पढेर माथी पुग्न आशिष् दिंदै वाहां संग गफिन थाल्नु भो। तेसको लगत्तै आकाशमा धेरै माथि घुइईं गर्दै अनौठो चम्किलो चीज उडी रहेको देखियो। कसैले के भनि लख काटे पनि हामी सबैलाई देखाउँदै प्लेन माने हवाई जहाज भनेको तेहि हो, याद गरि राख्नु भने श्यामकृष्ण जीले। तर किन यता तिर उडे, कहाँ जाने होला भनि भिन्न भिन्न अंदाज गरे। मैले पहिले सुने पनि प्लेन उडी रहेको देखेको पहिलो तेहि हो।
 
चित्रमा देखिने अन्तिम घरको दाहिने तिर माथिको खाली भाग जस्तो देखिने प्रशिद्ध गुरूंच्चे डाँडा फेडीमाथिको ओडार हो। त्यो ओडार पुगे पछि सौन्दर्य साथ बिचित्रको अनुभूति हुन्छ पुग्नेहरूमा। यो संग जोडिएको कथा हो त्यो बेला बन्दिपुरको विदुषी भनि चिनिएको घ्याम्पी दिदी। (यहि नामले चिनिने भएकोले नाम थाह भएन।) पहिले सुनेको भएपनि योग, ध्यान र एकाग्रताको विधि भने उनै बाट पहिले सिक्न खोजेको हो मैले। धेरै ज्ञानगुनको कुरा पनि। वाहाँले एक दिन यहि ओडारमा एक्लै तपस्या गरि बस्ने अठोट गरी वाहाँका परिवार संग अनुमति मागिन्। यो खवर सो परिवारको लागि बज्रपात जस्तो भए पनि घ्याम्पी दिदी को अठोट अगाडि केही लागेन र खाने आदी र धुनी जगाउने बन्दोबस्त गरि वाहाँ तपस्या गरि बस्न पाउनु भो। दिनमा बन्दिपुरका केही त विदूषी बाट तपस्वी भनि चिनिएको घ्याम्पि दिदी संग सत्संगत र शास्त्रार्थ गर्न जाने भनि पनि सुनिन्थ्यो। तर एक दिन अकस्मात तपस्वी अलप भयो। परिवार जनमा आयो अर्को बज्रपात । यताउति खोज्यो कहिं पाएन। आखिर बन्दिपुर कै एक भक्तसंग गोरखपुरमा घरजम गर्न पुग्नु भएको रहेछ।
 
अर्को मैले बिर्सन नसकेको तेस गुरुन्चे डाँडाको पल्लो पट्टीको घना जंगल बिच बाक्लो बस्ति भएको सुन्दर मुच्चुक गाउँ हो। मेरो बाजेले आफ्नो र परिवार खास गरि हामी केटाकेटीहरूका स्वास्थ समस्या परे पहिले घरमै छालाको ब्यागमा भएको विभिन्न जडिबुटीहरू तेही झोलामा भएको खलमा पानी संग घोटी नमिठो र तीतो लेप चाट्नु र चटाउनु हुन्थ्यो। समस्या गंभिर भए वैद्य काम गर्नु हुने पास्ने को जगत बहादुर कायस्थ दाइ र बाकुन्च्या को मीत्रलाल धबालाई बोलाई उपचार गर्नु र गराउनु हुन्थ्यो। कहिले काहीँ झांक्री काम गर्नु हुने चण्डेनी को दाई (नाम बिर्सें) बोलाई झांक्री बसाल्नु हुन्थ्यो। तर समस्या अती गम्भीर भए मुच्चुकको जान्ने भनि कहलिएको झांक्री बोलाउनु हुन्थ्यो। मुच्चुकको तेस ब्यक्तित्वको धनी देखिने झांक्रीबाट दुई कुरा बाट अत्यन्तै प्रबाहित भएको थिएँ म। र धामी झांक्री अन्धबिस्वासकोे विधि भनि भन्न सुरु गरेको बेला मैले पनि समयको सन्देश भनि अन्धबिस्वासै हो भन्ने गरे ता पनि ती दुई कुरा बाट आखिर धामी झांक्रि पनि केही बिद्याको उपज हो भनि मान्न थालें र अन्धबिस्वास कतै होईन भनि तेति बेलै लागेको थियो। कारण: एक दिन मेरो बाजे लालगोबिन्द पिया दमको ब्यथाले ग्रस्त हुनु भो। धेरैले धेरै थरिको उपचार गरे पनि ठीक भएन। तेही मुच्चुकको झांक्रि आएर देउटा बसेकै क्रममा वरपर थु्प्रै फल्ने गोलो पहेंलो गेडा "हेर है मनुवा …. " भन्दै मगाउनु भो। तुरुन्तै ल्याईयो पनि। केही गेडाको बीउ निकाली झांक्री बस्दै तेही जग्गेको आगोमा चेप्तो ढुंगा माथी तेल दलेर ती बिउहरू राखी धुवां निकाल्नु भो। पात बेरेर ढुंग्रो जस्तो पारी बाजेलाई सुंघ्दै सास लिन लाउनु भो । धेरै सास्ती अनुभव गरि बाजेले खोक्दै खकारहरू थुप्रै निकाल्नु भो। बाजेलाई सुघ्न पुग्यो आराम गर्नु भनि तेही देउटाली बोलीमा अह्राए र खकार सबै तेही धुनिको आगोमा खाक पारे। केही छिन पछि बाजेलाई दम निको भएको प्रत्यक्ष देखें। त्यो गेडाको नेपाली नाम अहिले बिर्से पनि म मेडिसिन पढदा फर्माकोलजी अध्ययन गर्दा तेस गेडामा स्कोलोपामाईन भन्ने तत्व हुने भनि थाह भो। तेस्तै अर्को घटना: मेरो बाजेको एक साईडको खु्ट्टा तल देखि माथि सम्म खूब दुखाउनु भो। धेरै दिन सम्म विभिन्न मालिस र औषधि गर्दा पनि ठीक भएन। खुट्टा पनि सोझ्याउन नसकी अैया अैया भनि धेरै दिन रात बित्न थाल्यो। तेही मुच्चुकको झांक्री बोलाई जग्गे थापी देउटा बसी भाले र कालो बोका समेत काटे । त्यो दिन तेति गरि भोली फेरी देउटा बस्नु पर्छ भनेर गयो। त्यो रात केही फरक परेन। अैया अैया मै बित्यो। अर्को दिन सो झांक्री आउँदा बाजेले पहिले त गाली गर्दै ठीक भएन भन्नु भो। पछि रोयरै, "जान्ने भन्छौ, मेरो यति दुख पनि ठीक गरि दिएनौं। मन लाएर जे गर्नु छ गर तर ठीक पार", भन्यो। झांक्रीले पनि ठीक हुन्छ भनि सम्झााउँदै हरेस खानु हुन्छ तपाईं? भनि सम्झाएर जग्गे हालेर दीयो बत्ति बालेर देउटा घेरै बसेर धेरै कूराहरू भनि ल्याए। अन्तमा बाघ जस्तो बनेर हाँ हुँ गर्दै बाजे वरपर घुम्दै गर्न थाल्नु भो। केही पछि पहिले ढाड नीर चुसेर फिंजै फिंज भएको रगतको थुप्रो निकालेर बाजेलाई हेर हेर भन्दै जग्गे निरको पातमा थुक्नु भो। पछि फेरी खुट्टाको तीघ्रामा तेसरी नै चुसेर फिंज भएको रगत निकाल्नु भो। दुबै थरी रगतको पाटो तेहिं डढ्याएर पठाए। पछि देउटा बस्न सिध्याएर खुट्टा सोझो पार्न भने । बाजेले पनि सजिलै संग सोझ्याउन सक्नु भो। आस्चर्य चकित हुने गरि तेस दिन देखि बाजेको खुट्टा दुख्न छाड्यो।
 
प्रभावित म झांक्री प्रथा पनि एक बिद्या हो भनि थहर गरें। एक दिन सो झांक्रीलाई सोधें कसरी त्यो हुन सक्यो भनि। पहिला त मलाई किन जान्नु पर्यो भनि जवाफ दिएन। भन्नुहोस् भनि मैले जिद्दी गरे पछि "झांक्री पनि एक बिद्या हो। सिक्न कठोर साधना र मन दिनु पर्छ" भनि भन्नू भो। कसरी सिकाईन्छ भनि सोध्दा परिवार संग राजी खुसी गरि घर छाडी सिक्नु पर्छ। तिमी परिवारको मन्जुरी पनि लिन सक्दैनौ। कठोर साधना पनि गर्न सक्दैनौ। म कसरी बिद्या सिकाउनु हुन्छ भनि हेर्न मात्र चाहन्छु भने। तेसरि देखाउन मिल्दैन भने। तर धेरै आग्रह गरे पछि सिकाउने ठाउँमा केही बोल्न र छुक छुक गर्न पाउन्न भनि एक्लै गाउँको घर आउनु भनी समय दिनु भो। डरलाग्दो जंगल पार गर्न डराउने छौ भनि उसैले तेही शर्तमा एक साथि लिई आउनु भन्यो। साथि जान कोही मानेन तर थाईलेको म भन्दा अलि जेठो चाउरे दाइ मान्नु भो। टोकि दिएको दिनको करिब १२ बजे वाहां कहां पुग्यौं। तेस बेला एक अँध्यारो पारिएको कटेरो देखाईयो एकजना ले। भित्र एक तिर झांक्री बसेको जग्गेको आगोले मात्र देखियो। केही पछि एक तिर ५ अर्को तिर ६ अनुचरहरू चुपचाप पलेटी कसेको देखियो। झांक्रिको नबुझिने मन्त्रणाको आवाज मात्र थियो। पछि झांक्री काम्न थाल्नु भो लगत्तै भटाभट अरू पनि काम्न थाल्नु भो। म पनि कांपियला जस्तो त भयो तर हामी दुवै कांपेनौं। एक छिन पछि एक जना दाइ आएर ईसारा गर्दै सुटुक्क बाहिर ल्यायो। र भन्यो गुरुको आज्ञा यति मात्र हो घर जानू भनि हामीलाई भने पछि उ भित्र जानु भो ।
 
गुरुन्चे डाँडा को मेरो केटाकेटी बेलाको अर्को चिनारी हो राति त्याहाँ राँके भुत भनि तर्साउने गरेको सरर सरर दक्षिण बाट उत्तर तिर दौडने आगो को मुस्लाहरूको दृष्य। गर्मि बेला तेस डाँडाको थ्याक्कै उल्टो पट्टी बजारको हाम्रो घरको अगाडी पट्टीको बार्दलीमा सुत्दा त्यो दृष्य दिन दिनै धेरै पटक देखिन्थ्यो। पहिले त राँके भूत भनि तर्से पनि रमाईलो दृष्य भएकोले मज्जा संग हेर्ने गर्थ्यौं, डराउँदै भएपनि। पछि कदम दाइ र अरू बुझ्नेहरूले "भूत सुत केही होईन। घांस पात कुहिंदा निस्कने थोरै गर्मिमा बल्ने ग्यास हुन् ती आगाका मुस्लाहरू। रुख बुटानका सानो सानो हाँगाहरू एक आपसमा हावाले घस्रि रहँदा केही गर्मी पैदा हुन्छ घस्रंदा घस्रंदै। थोरै गर्मी भयो कि ती निस्कि रहने ग्यांस बली हाल्छ। र बलेका गोलाहरू हावाले एक थाउँ बाट अर्को थाउं तिर सरर बगाई लैजान्छ। बल्ने ग्यासको गर्मी ज्यादै कम हुने हुनाले ती मुस्लाका बाटामा पर्ने रूखपातहरु बाल्न सक्दैन", भने पछी ती "रांके भूतहरू" हेर्दै खूब रमाउने गर्थ्यौं।
साभार – डा. मथुराकाे मुहारपुस्तिकाबाट
काठमाण्डु, २०७७ माघ १०.