शनिबार, आश्विन १७ गते २०८३

महान लेनिनलाई स्मरण गर्ने २१ जनवरीको महत्वपूर्ण दिन

माघ ८, २०७८ शनिबार
महान लेनिनलाई स्मरण गर्ने २१ जनवरीको महत्वपूर्ण दिन

Greatlenin.jpg
लोकनारायण सुबेदी
           बिश्वमा पहिलो पटक मार्क्सवादलाई सही किसिमले प्रयोग गरेर शोषित पीडित जनता – मजदुर किसान बर्गको राज्यसत्ता स्थापना गर्ने क्रान्तिकारी मार्क्सबादी चिन्तक लेनिनको स्मृति दिवस हो २१ जनवरीको दिन ! लेनिन बास्तवमा बिश्व समाजलाई आमूलरुपमा अग्रगामी परिवर्तनको मार्गदर्शन गर्नेआधुनिकतम दर्शन मार्क्सवादका सफल प्रयोक्ता हुन् । यतिबेला उनको नेतृत्वमा रहेको बोश्लेभिक पार्टीका अमर योगदानहरुको स्मरण गर्नु बाञ्छनीय छ । किनकि उनकै बिश्वमा  एउटा नबयुग निर्माणकारी महान र महत्वपूर्ण अक्टोबर समाजबादी महत्वपूर्ण क्रान्ति सम्पन्न भएको थियो । त्यो महान् क्रान्ति सम्पन्न भएको  दिनले बिश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्ब र बिशेष महत्व राख्दछ ।
           वास्तवमा प्रष्टसँग भन्ने हो भने फ्रान्सेली क्रान्तिपछिको बिश्वको सबैभन्दा दूरगामी महत्वको घटना थियो – महान समाजवादी अक्टोबर क्रान्ति ! जसले बिश्वका अर्बौ अरब शोषित पीडित, पद दलित तथा श्रोतसाधनबिहीन तुल्याइएका आम जनताको आत्म बिश्वास जगाएको थियो । मानबीय मूल्य र गरीमाको पुनरोत्थान गर्ने तथा सभ्य, सुसँस्कृत र सुसम्पन्न मानब समाजको निर्माण गर्ने ठूलो आशा जगाएको थियो र मानब समाज सबै प्रकारका शोषणबाट मुक्त हुन सक्तछ भन्ने ठूलो बिश्वास पलाएको थियो । आज पनि हामीले संयुक्त राष्ट्र संघको बडापत्र र घोषणापत्रलाई हेर्‍यौ, केलायौं र गम्भीरतापूर्वक मनन गर्‍यौ भने तिनमा फ्रान्सेली क्रान्ति र महान अक्टोबर समाजवादी क्रान्तिले अघि सारेका आधारभूत र महत्वपूर्ण कुराहरु अर्थात समानता, न्याय, स्वतन्त्रता, भाइचारा र शान्ति लगायतका महत्वपूर्ण बिषयहरु कै अनुगुञ्जन भएको पाउँदछौ । भलै, सही किसिमले ती कुराहरु ब्यवहारमा उत्रिने स्थिति बिश्वमा अझै पनि बन्न नसकेको यथार्थ आज पनि हाम्रा अगाडि ठिङ्ग उभ्भिएको किन नहोस् !
          पहिलो पटक बिश्वमा बैज्ञानिक तथा क्रान्तिकारी मार्क्सवादी सिद्धान्त र ब्यवहारको द्वन्दात्मक सम्वन्धलाई लेनिनलेनै सही किसिमले ब्यवहारमा खरो उतारेका थिए र मार्क्सवादलाई अझ सम्बृद्ध तुल्याएका थिए । त्यसबाट बिश्वका कम्युनिष्ट, बामपन्थी र प्रगतिशील शक्तिहरुले आज पनि सही शिक्षा लिएर सही दिशामा अर्थात बैज्ञानिक समाजवादको दिशामा अघि बढ्न सक्ने पर्याप्त गुञ्जायश छ । तर बिश्व कम्युनिष्ट आन्दोलन र त्यसको एक अंग नेपालको कम्युनिष्ट आन्दोलन पनि जसरी आज उपभोक्ताबाद र औसरबादको दलदलमा अत्यन्तै नराम्रोसँग फँसेको छ त्यसबाट यसलाई बाहिर ननिकालेसम्म लेनिनको स्मरण गर्नु र अक्टोबर क्रान्ति दिवस मनाउनु कुनै अर्थ पनि रहँदैन । बरु, लेनिनलाई पनि बजारको बस्तु सरह बनाउनु मात्रै यो ठहरिन जानेछ । शोषित पीडित बर्गप्रतिको अबिचल निष्ठा र तिनलाई सबै प्रकारका शोषण, अन्याय, थिचोमिचोबाट मुक्त गर्ने सैद्धान्तिका तथा ब्यवहारिक दृढता नै मार्क्सवाद–लेनिनबाद र माओ बिचारधाराको कालभेदी सार बस्तु हो । बर्गीय बिचलनमा परेर यथास्थितिको भासमा भासिएकाहरुले अक्टोबर समाजबादी क्रान्ति र लेनिनको जतिसुकै गुणगान गाए पनि वास्तवमा यो सार कुरालाई तिनले तिलाञ्जली दिदैआएको र भ्रम सिर्जन गर्ने बाहेक अरु केही कुरा होइन र हुदैन भन्ने एकदमै छर्लङ्ग छ ।
          बर्गीय बिचलन तथा बिजातीय तत्वसँगको साँठगाँठलाई ब्यवहारिक तथा बाध्यात्मक स्थिति मानेर जनतामा एक पछि अर्को भ्रम छर्ने जुन काम आज कम्युनिष्टको नामबाट भइरहेको छ त्यस कुरासँग मार्क्सवाद, लेनिनवाद र माओबिचारधारासँग सपनाको साइनो पनि रहेको छैन र रहन सक्तैन । तर यसले जनतामा भने ठूलै भ्रम पारेको छ । शोषित पीडित जनताको सबैभन्दा चेतनशील, संगठित र अनुशासित अग्रदस्ता हुनुपर्ने कम्युनिष्ट पार्टी केवल मार्क्सवाद, लेनिनवाद र माओबिचारधाराको साइनबोर्ड राखेर ब्यपार गर्ने समूहमा परिणत भएको अबस्थाले गर्दा सही क्रान्तिकारी आन्दोलन आज ओझेलमा परेको र लेनिनले औल्याउने गरेको ‘ठोस परिस्थितिको ठोस बिश्लेषण’ लाई पनि औसरबादी र अपबित्र बर्गीय साँठगाठको निम्ति प्रयुक्त गर्ने गरेर भ्रष्टिकरण गरिएको छ । लेनिनले जुन परिप्रेक्ष र सन्दर्भमा आत्मनिर्णयको अधिकारको कुरा अघि सारेका थिए त्यसलाई समेत नेपाली समाजको सामन्ती तथा दलाल नोकरशाही पूँजीबादी राजनीतिक, आर्थिक, समाजिक र साँस्कृति परिस्थितिलाई राम्रोसँग नकेलाई जथाभावी दुरुपयोग गर्ने र त्यसलाई बर्ग संघर्षका बिरुद्ध प्रयोग गर्ने हतियारकोरुपमा प्रयुक्त गर्न खोजिदै आएको छ । यसले शोषित पीडित जनतामा फाटो ल्याउने र कम्युनिष्ट आन्दोलनलाई अझ कमजोर तुल्याउने मात्र काम गर्दछ भन्ने कुरा पनि एकदम प्रष्ट नै छ।
            अत: आज महान अक्टोबर समाजबादी क्रान्ति र त्यसको नेतृत्वकर्ता लेनिनलाई साच्चै सही किसिमले स्मरण गर्ने हो भने शोषित उत्पीडित जनताको एकतालाई अझ बलियो बनाउने, उनीहरुको बर्गीय चेतना र भाइचाराको भावनालाई अझ तिखार्ने र बर्गीय शोषणको अन्त्य गर्ने दिशामा उनीहरुको संघर्षलाई एकताबद्ध गर्ने कार्यदिशा अनिबार्य र अपरिहार्यरुपमा लिनै पर्दछ । यसरी मात्र नेपाली समाजको बर्तमान पिछडिएको सामन्ती–दलालपूँजीवादी शोषण र सबै किसिमका साम्प्रदायिकताबाट देशलाई मुक्त गर्न सकिन्छ । अनि नेपालको राष्ट्रिय एकता तथा अखण्डतलाई सबल बनाउदै जनतन्त्र र जनजीबिकाका समस्या हल गर्ने नयाँ जनवाद तथा बैज्ञानिक समाजबादको बाटोमा यसलाई सही किसमले प्रयुक्त गराउन सकिन्छ । यसरी मात्र नेपाल बिश्व समुदायका लागि निभाउन पर्ने भूमिका निर्वाह गर्न पनि सक्षम हुने कुरा पनि निश्चित हुन्छ । वास्तवमा आज मार्क्सवाद लेनिनवाद र माओ बिचारधारालाई अँगाल्नुको औचत्य र आधार पनि यही नै हो । यी नै भावनाकासाथ महान अक्टोबर समाजवादी क्रान्ति तथा यसका सिद्धान्तकार तथा मार्क्सबादका सफल प्रयोक्ता महान लेनिनप्रति उच्च सम्मानकासाथ उनको स्मृति दिबस २१ जनवरीका दिन उनलाई शतत नमन गरौं !