शुक्रबार, कार्तिक ७ गते २०८३

टरेको छैन संकटः ओमिक्रोन पछि पनि आउन सक्छन् नयाँ भेरिएन्ट

माघ ६, २०७८ बिहीबार
टरेको छैन संकटः ओमिक्रोन पछि पनि आउन सक्छन् नयाँ भेरिएन्ट

 
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले संसारलाई यतिबेला आक्रान्त बनाएको छ । नेपालमा पनि कोरोना जाँच र संक्रमण पुष्टिको दर हेर्ने हो भने सर्वाधिक उचाइमा रहेको छ । बुधबार मात्र ११६५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

विश्वभरको ट्रेण्डले ओमिक्रोनको संक्रमण दर यस अघिका कुनैपनि भेरियन्टभन्दा बढि छ । फैलिने क्रम अत्यन्त तीब्र भएपनि यस भेरियन्टका कारण ज्यान गुमाउने वा गम्भीर असर पुगेका विरामीको संख्या भने न्यून रहेको छ ।

भाइरसको अध्ययन गरिरहेका विज्ञहरु यो भेरिएन्टको मात्रै असर हेरेर नतीजामा पुग्न नसकिने बताउँछन् । उनीहरुका अनुसार भाइरसको खतरा टरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कारोना संक्रमितको बढ्दो संख्या नै चिन्ताको विषय बनेको छ । भाइरस जति बढि फैलिन्छ त्यति नै यसका नयानयाँ भेरिएण्ट आउने खतरा पनि बढ्न जान्छ ।

नयाँ आउने भेरिएण्टको असर सामान्य हुन्छ वा जटिल त्यसै भन्न सकिँदैन । तर कोरोना प्याण्डेमिक इण्डेमिक नै भइसक्यो भनेर पनि भनिहाल्न नहुने विज्ञहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठनको भनाईमा जबसम्म समान रुपले विश्वभर खोप लगाईंदैन, नयाँ भेरिएण्ट उत्पन्न हुने खतरा रहिनै रहन्छ । ओमिक्रोन असर अन्य भेरिएण्ट भन्दा कम भएपनि यसको तीब्र विस्तार नै डरलाग्दो भएको बताइन्छ । जति धेरै म्युटेशन त्यति घातक भेरिएण्ट आउने खतरा रहने बोस्ट युनिवर्सिटीका महामारी विज्ञ लियोनार्डो मार्टिनसको भनाईछ ।  यसले ल्याउने नयाँ भेरियन्ट ओमिक्रोनभन्दा कमजोर नै हुनेछन् भनेर ठोकुवा गर्न सकिँदैन । साथै अहिले  दिइराखिएको खोपले नै ती भेरिएण्टविरुद्ध काम गर्छ गर्दैन भन्ने समेत ठेगान छैन ।

गत नोभेम्बरको मध्यदेखि नै ओमिक्रोनले विश्वभर डढेलो सरी सल्कियो । एक प्रतिवेदन अनुसार ओमिक्रोन डेल्टा भन्दा २ गुणा र शुरुमा वुहानमा भेटिएको भाइरसको दाँजोमा ४ गुना छिटो फैलिइरहेको छ । 

कमजोर प्रतिरक्षा प्रणाली नयाँ भेरिएण्टका खानी 

कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा भाइरसका नयाँ भेरिएन्ट उत्पन्न हुने खतरा रहन्छ । यस्ता व्यक्ति संक्रमणको चपेटमा आएमा म्युटेशन हुने अवसर वृद्धि हुन्छ । ओमिक्रोन भेरिएन्ट पनि एचआइभी पीडित संक्रमित हुँदा उत्पन्न भएको जनाइएको छ । 
अर्कोतर्फ जनावरहरुबाट पनि उत्परिवर्तित स्वरुप उत्पन्न हुन सक्छन् । त्यस्तै, हाल विद्यमान ओमिक्रोन र डेल्टा भेरिएन्टको दोहोरो संक्रमणले पनि दुवैको गुण भएको नयाँ भेरिएन्ट आउन सक्ने सम्भावना अन्वेषकहरु औंल्याउँछन् ।

ओमिक्रोनको संक्रमण दर तीब्र भएता पनि घातक असर नदेखिएकाले धेरै देशमा स्वास्थ्य सुरक्षा प्रबन्धमा कडाइ गरिएको छैन । यस्तो अवस्थामा स्वस्थ युवा र विद्यार्थीहरुबीच संक्रमण फैलिँदै गएको छ । यो समुहमा ओमिक्रोनको लक्षणहरु सतहमा नदेखिने तर भाइरस फैलाउन भने सक्ने भएकाले वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा उनीहरुले सहजै संक्रमण सार्न सक्छन् ।

जोन हप्किन्स विश्व विद्यालयका संक्रामक रोग विशेषज्ञ डा. स्टुवर्ट कम्बेलका अनुसार संक्रमणको लामो यात्रामा गम्भीर संक्रमण भएपछि  नयाँ भेरिएन्ट निर्माणको आधार तयार हुन्छ । समय वित्दै जाँदा भाइरसक कम घातक हुँदै जाने भन्ने नभएको विज्ञहरुको भनाई छ ।