कोरोना भाइरस संक्रमण न्यूनिकरणको लागि अत्यावश्यक रुपमा गरिने पि.सि.आर.टेष्ट र एन्टिजेन टेष्ट निःशुल्क नियमित गर्न राष्ट्रिय उपभोक्ता मञ्चले माग गरेको छ । सरकारी तथा निजी स्वास्थ्य संस्थामा शुल्कमा एकरुपता नभएको निजीमा अतिरिक्त शुल्क तिर्न उपभोक्ता बाध्य भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चले ज्ञापन पत्र बुझएको हो ।
सरकार आफैले पनि प्रत्येक नागरिकलाई शंका लागेमा पि.सि.आर टेष्ट र एन्टिजेन टेष्ट गर्नको लागि अनुरोध गर्दै आएको छ भने सार्वजनिक स्थल, समारोह आदि ठाउँहरुमा जान पि.सि.आर. टेष्ट गरेको वा एन्टिजेन टेष्ट गरेको प्रमाण पत्र तथा खोप लिएको प्रमाण पत्र अनिवार्य गरेको छ ।
ज्ञापनपत्रमा भनिएको छ “नेपालको संबिधानले आधारभूत स्वास्थ्य सेवालाइ निशुल्क पाउनु पर्ने उपभोक्ताको अधिकारलाई सर्वोच्च अदालतले समेत स्वीकार गर्दै प्रत्येक नागरिकको कोरोनाको टेष्ट गर्दा निःशुल्क गर्न नेपाल सरकारलाई आदेश दिइसकेको अवस्थामा कोरोनाको महामारीबाट आक्रान्त नेपाली जनतालाई सरकारी स्वास्थ्य संयन्त्रहरुबाट समेत बढि मूल्य लिइनु नितान्त गैरकानूनी भएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस बिषयलाइ गम्भिरताका साथ लिनु भई कोरोनाको पि.सि.आर तथा एन्टिजेन टेष्ट पूर्णतः निशुल्क गर्न गराउन तत्काल आदेश जारी गरी पाउन अनुरोध गर्दछौं ।”