
—लोकनारायण सुबेदी
अन्तर्राष्ट्रिय नयाँ बर्ष २०२२ शुरु हुँदै गर्दा दुइटा घटना क्रमले बिश्वको ध्यानाकर्षण गरेको छ । ती मध्ये पहिलो हो यूक्रेनसँग सीमा जोडिएको रुसले ठूलो संख्यामा आफ्नो सेना तैनाथ गर्नु । यो यूक्रेन कुनै बेला पूर्ब सोभियत संघको अभिन्न अंग रहेको हो । अर्को घटना हो कजाकिस्तानमा उत्पन्न घरेलु अशान्तिलाई शान्तिमा बदल्न रुसको हस्तक्षेप । यी घटनाले स्वभाविकरुपमा प्रश्न खडा हुन्छ कि अफगानिस्तानबाट अमेरिकाको योजनाबद्ध पलायन पछि रुसले पुन: आफुलाई स्थापित गर्न खोजेको हो ? हो भने यसको भावी परिणाम के कस्तो होला ? अहिले यो अनेक अडकल र अनुमानको बिषय बनेको छ ।
कतिपय प्रकाशित जानकारीका अनुसार बर्तमान स्थितिमा रुसी सेनाहरुले यूक्रेनलाई तीन तिरबाट घेरिरहेका छन् । अमेरिकी पत्रिका न्यूयोक टाइम्सका अनुसार रुसी सैनिक, भारी बख्तरबन्द गाडीहरु तथा मध्यमदेखि लामो दूरीसम्मका सैन्य आर्टिलरीहरुलाई त्यहाँ यसरी तैनाथ गरिएको छ कि कुनै पनि युद्धको स्थितिमा यूक्रेनमा तत्कालै धावा बोल्न सकिने छ । यूक्रेनको पूर्बी तथा उत्तरी सीमाना त्यस देशको राजधानी कीभको धेरै नै नजकि छ अनि रुसी सेना ब्यूह रचना खडा गरेर त्यहाँ बसेको छ । १९९०को दशकको शुरु देखिनै रुस वास्तवमा यूक्रेन र जर्जिया नाटो(नर्थ एटलाण्टिक ट्रिटी अर्गनाइजेशन)को सदस्य बनेका कारण अत्यन्तै अप्रसन्न रहँदै आएको देखिएको पनि हो ।
एकथरी रणनैतिक बिशेषज्ञहरुका अनुसार रुसले आठ बर्ष अघि २०१४ मा नै यूक्रेनमा घूसपेठका लागि आफ्नो सशस्त्र बल तैनाथ गर्न शुरु गरेको थियो जतिबेला उसले क्रिमियामाथि कब्जा जमाएको थियो । यद्यपि रणनीतिक अध्येताहरु के भन्दछन् भने यस कुरामा कुनै स्पष्टता छैन कि किन क्रेमलिन युक्रेनमा झगडाको यो जोखिमपूर्ण मार्ग चुनिरहेको छ, जसको परिणाम केवल पूर्बी यूरोपसम्ममा मत्र सीमित रहने छैन । यदि अमेरिका र रुस बीचको जेनेभा बार्ताको कुनै परिणाम निस्केन भने(निस्केको पनि छैन) नाटो पनि यस झगडामा सामेल हुन सक्नेछ । यसबाट आर्थिक ब्यवधानहरु पनि उत्पन्न हुँनेनै छन् । किनभने यूरोप पहिलादेखि नै प्राकृतिक ग्याँसको चर्को मूल्यको सामना गर्दै आएको छ । कारण ‘गेजप्रोम’ले यूरोपका लागि ग्याँसको आपूर्ति रोकिदिएको छ । यूरोपको दु:खमा अझ बृद्धि अमेरिकाद्वारा एउटा नयाँ ग्यास पाइपलाईन नर्ड स्ट्रीम –२ लाई प्रमाणपत्र नदिने तथा प्रतिबन्ध लागु गर्नाले भएको छ ।
यता पूर्बतिर पूर्बबर्ती सोभियत संघको एशियाली क्षेत्रतर्फ लाग्ने हो भने श्रोतहरुले भरीपूर्ण कजाकस्तान संघर्षको अर्को एउटा बिन्दू बन्न गएको छ । सोभियत संघको यो पूर्ब गणराज्य रुस र चीनका बीचमा अबस्थित छ । यो चारैतिरबाट जमिनले घेरिएको सबैभन्दा ठूलो भूपरिबेस्ठित ‘बेस्टफेलियन’ राज्य हो । जसको जनसंख्या हाल १ करोड ९० लाख रहेको छ ।

गएको २ जनवरी २०२२ का दिन त्यो देशमा हजारौंको संख्यामा कजाखहरु सडकमा उत्रिएका थिए । यसको तत्काल देखिएको कारण एलपीजी ग्यासमा सरकारले बढाएको अधिकतम मूल्यको सीमा हटाउनु थियो । हुन त यसको प्रमुख कारण त्यहाँ ब्याप्त समाजिक तथा आर्थिक असमानताहरु ह्ुन् जसले गर्दा एकल पार्टी तानाशाही रहेको शासन सत्ताको बिरुद्ध जनतामा बढ्दो तीब्र रोष प्रकट भएको पनि औंल्याइएको छ । किनकि त्यहाँ सरकारी भवनहरुमा आगो पनि लगाइएको थियो र अत्यन्तै अप्रसन्न भीडले हवाई अड्डा र अन्य सार्बजनिक भवनहरुमा समेत कब्जा जमाएको थियो । त्यसको परिणाम बर्तमान कज्जाक राष्ट्रपति कासिम–जोमार्ट टोकाएबलाई मद्दत माग्न मास्कोतिर फर्किनु परेको थियो । बितेको ८ बर्षभन्दा पनि कम समयमा क्रेमलिन समर्थित कुलीनतन्त्रका बिरुद्ध यो तेश्रो बिद्रोह भएको मानिएको छ । २०१४ मा यूक्रेनमा निकै ब्यापक ‘लोकतन्त्र’ समर्थक प्रदर्शन भएको र त्यसपछि त्यस्तै प्रदर्शन बेलारुसमा पनि भएको थियो ।
चाखलाग्दो कुरा के छ भने कजाकस्तान अमेरिका तथा चीन दुबै देशका लागि पनि निकै महत्वपूर्ण मानिन्छ । यद्यपि त्यसका करणहरु भने बेग्ला बेग्लै छन् । एक्शन मोबिल तथा चेभरन जस्ता प्रमुख अमेरिकी तेल कम्पनीहरुले कजाकस्तानको पश्चिमी क्षेत्रमा खर्बौं डलर लगानी गरेका छन् जुन अहिलेको जन प्रदर्शनको केन्द्र क्षेत्र हो । चीनको पनि यस समान चिन्ता रहेको छ । किनभने छिमेकी कजाकस्तानसँग चीनको १७८२ किलोमिटर लामो साझा सीमाना रहेको छ । त्यहाँ कुनै त्यस्तो गम्भीर प्रदर्शन हुँदा चीनमा पनि त्यसको प्रभाव पर्न सक्छ ।
प्रष्ट छ, पश्चिमा शक्तिहरु कजाकस्तानमा रुसको हस्तक्षेपले बिश्वका लागि निकै ठूलो र असमान्य स्थिति उत्पन्न हुने बिश्लेषण गरिरहेका छन् । किनभने यो रुसको तैनाथी कलेक्टिभ सेक्यूरिटी ट्रिटी अर्गनाइजेशनको मातहतमा रहेको छ । यसमा रुस तथा पूर्ब सोभियत संघमा आबद्ध रहेका देशहरुको सबैभन्दा सबल सुरक्षा संघमा आधारित सैन्य सहयोग संगठन हो । त्यस सम्झौतामा अर्मेनिया, बेलारुस, कजाकस्तान र किर्घिजिस्तान सामेल रहेका छन् । त्यसैले पश्चिमा बिश्लेषकहरुले रुसले आफ्नो पूर्बबर्ती प्रभाव क्षेत्रमा अर्को एउटा नयाँ बिश्व खेल शुरु गरिरहेको अर्थ लगाइरहेका छन् । त्यो कुन अर्थमा पनि भनिदैछ भने उनीहरु अमेरिका यतिबेला आफ्नो इतिहासको जेफसशन कालतर्फ फिर्ता गइरहेको औंल्याउन थालेका छन् । यद्यपि यी सबै परिघटनाहरुको यथार्थ अब कसरी उपस्थित हुने हो त्यो समयले नै प्रकट गर्ने प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।