
–लाेकनारायण सुबेदी
नेपालीहरुका साँस्कृतिक पर्वहरु मध्ये एक माघे सक्रान्ति या मकर सक्रान्ति र माघीलाइ पनि मानिन्छ । यो माघे सक्रान्तिलाई पनि राष्ट्रिय पर्वको मान्यता दिएको छ। यद्यपि पर्व र जात्राहरुको धनी हाम्रो बहुसाँस्कृतिले भरीपूर्ण देशमा सार्वजनिक बिदा दिने क्रम जारी राख्ने भन्दा पनि रचनात्मक सहयोग गर्ने परम्परा बसालेर यस्ता पर्वहरुको महत्वलाई दर्शाउने दिशा लिनु बढी उपयुक्त हुने देखिन्छ ।
पूर्वीय मान्यता अनुसार ज्योतिष शास्त्रका जुन १२ ग्रह-राशीहरु छन् ती मध्ये मकर संक्रान्तिका दिन सूर्य धनु राशीबाट मकर राशीमा सर्ने भएकोले यसलाई मकर संक्रान्ति पनि भनिएको पाइन्छ । प्रकारान्तरले यो सूर्य उपासनाकै पर्व हो । बैज्ञानिक आधारमा भन्ने हो भने सूर्यबाट पृथ्वीको उत्पत्ति भएको हो र हामी पृथ्वीवासी मानिसहरु यही पृथ्वीाक उपज हौ । त्यसैले हामी पृथ्वीलाई माताको रुपमा लिन्छौ र सम्मान गर्दछौ । पृथ्वी अर्थात आफ्नै सन्तानलाई प्रकाश दिएर सूर्यले चराचर जगतलाई शक्ति प्रदान गरेको हुँदा बेला बेलामा सूर्यको पूजा उपासना गर्ने, दीपोत्सव गर्ने, दीप अर्थात उज्यालोको पूजा गर्ने परम्परा चलेर आएको देखिन्छ । उज्यालो आफैमा मानिसको सामाजिक जीवन र प्रकृतिको पनि सकारात्मकताको प्रतीक हो । अर्थात अँध्याराका बिरुद्ध उज्यालोको अपेक्षा, अज्ञानताका बिरुद्ध ज्ञानको अपेक्षा, दुःखका बिरुद्ध सुखको अपेक्षा, अन्यायका बिरुद्ध न्यायको अपेक्षा, बिपन्नताको बिरुद्ध सम्पन्नताको अपेक्षासँग यो पूजा अर्चना गासिन पुगेको छ । प्रकारान्तरले यसरी प्रकाशको पूजा गर्नुलाई आफ्नै सुख, सम्बृद्धि र समुन्नतिको निमित्त पुनः समर्पित हुने संकल्प लिने दिनको द्योतककोरुपमा लिन सकिन्छ । सक्रान्ति अर्थात संयक क्रान्ति याे हरेक महिना आउने भए पनि मकर संक्रान्तिमा सूर्य छ महिनाका लागि उत्तरायण हुने अर्थात उत्तरतर्फलाग्ने भएको र प्रकृति शीत ऋतुबाट बसन्त ऋतुतर्फको अग्रसर हुने भएकोले यसको बिशेष महत्व रहेको छ ।
पौराणिक महाभारतको युद्धमा अर्जुनको बाणले चारैतिरबाट बाँधिएका भीष्म पितामहले मकर सक्रान्तिका दिनसम्म आफ्नो प्राण नत्याग्ने संकल्प गरेको कथा छ । त्यसै गरी गंगालाई पृथ्वीमा ल्याउन भगीरथले पनि यसै दिन कपिल मुनिकहाँ गएर संकल्प लिएको कथा छ । त्यसैले पनि यो दिनलाई मन र इन्द्रियहरुलाई अंकुश लगाउने, बरालिन नदिने र दृढ संकल्प लिने दिनको रुपमा मनाउनु नै यसको सार बस्तु रहेको देखिन्छ । चोखो मन, चोखो शरीर,चोखो बस्त्र, चोखो स्थानको सुस्वास्थ्य, दीर्घायु र बिषय बस्तुको गहिरो ज्ञानको निमित्त ठूलो महत्व छ भन्ने कुरा त बिज्ञ बेत्ताहरुले बारम्बार उल्लेख गर्ने गरेका छन् । त्यसैले अप्रदुषित नदी या पोखरीमा स्नान गर्नु, सुर्यका किरणहरुमा शरीर स्पर्श गराउनु स्वास्थ्यका दृष्टिले ठूलो महत्व भएकोले पनि यो दिनको स्नानलाई महास्नान भनेर पनि पुकारिन्छ । यसरी स्नान गर्नु र सन्तुलित ब्यञ्जन या परिकार बनाएर खानुको ठूलो र सकारात्मक अन्तर सम्वन्ध छ ।
यस पावन पर्वको बेला हाम्रो देशमा इलामकाे माइबेनी, चितवनको देबघाट, सुनसरीको बराह क्षेत्र, नुवाकोटको, देबीघाट बर्दियाको ठाकुरद्वारा, लगायतका नदीँहरुमा ठूलो मेला लाग्दछ । परम्परा अनुसार ऋतु परिवर्तनलाई दर्शाउने र सुहाउने किसिमको परिकार बनाएर खाने चलन छ । माघे सक्रान्तिको दिन तरुल, घिऊ, चाकु र लड्डु खाएर रमाइलो गर्ने गरिन्छ । तरुलहरु एक दिन अगाडि नै उसिनेर राखिन्छ र 'पुषमा पकाएको र माघमा खाएको' भन्ने चलन छ । माघे सक्रान्तिकै दिन नेपालका थारु समुदायले माघी पर्व मनाउँदछन् । खाशगरी पश्चिम तराईका कैलाली, कञ्चनपुर, बाके बर्दिया जिल्लामा यो पर्वको बिशेष रौनक हुने गर्दछ । यस पर्वको अवसर पारेर थारु समुदायले काठमाण्डौमा आजकल थारु महोत्सवको आयोजना पनि गरेको छ । यो उनीहरुको नयाँ बर्षारम्भको साँस्कृतिक पर्व पनि मानिन्छ । अर्को तिर नेपाली छन्त्यालहरुले पनि माघे सक्रान्तिलाई नयाँ बर्षकाेरुपमा मनाउने गर्दछन् । भीष्म प्रतिज्ञा गर्ने यो दिनलाई सही अर्थमा बुझन सके र जनता र राष्ट्रको हितमा अर्थ–सामाजिक रूपान्तरणकासाथ स्वाधीन र समुन्नत नेपाल निर्माणमा सबै मिलेर अग्रसर हुन सकेमा मात्र मकर सक्रान्ति, र माघी जस्ता ठूलो संकल्प गर्ने र त्यसलाई ब्यवहारमा उतार्ने पर्वको सार्थकता हुन्छ । यस दिशातर्फ प्रबृत्त हुन सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइमा र बिशेषगरी तरार्ईका थारु र पहाडका छञ्त्याल समुदायमा माघी तथा मकर सक्रान्तिको मंगललमय हार्दिक शुभ कामना !