कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने भएको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका हुन् ।
यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारीस गरेको थियो ।
मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ । विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन भनिएको छ ।
तर विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु नरोकिने विज्ञप्तिमा उल्लेख छ । जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ । भौतिक दूरी कायम राख्न जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
