सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको कार्यालयमा आयोजित सभाले आर्थिक वर्ष २०७७।०७८ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण वित्तीय विवरण स्वीकृत गरेको हो ।
विगत १३ वर्षदेखि संचालन भइरहेको सिभिल क्यापिटलले निरन्तर रुपमा लाभांश प्रदान गर्दै आइरहेको भएतापनि गत आ.व. २०७७।०७८ को मुनाफाबाट शेयरधनी महानुभावहरुलाई १५ प्रतिशतसम्म लाभांश प्रदान गर्न सक्ने क्षमता भए पनि संस्थाको मजबुतिका लागि आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट लाभांश वितरण नगरी सम्पुर्ण नाफा रकम जगेडाकोषमा सार्ने प्रस्ताव पारित गरेको छ । चालु आ.व. २०७८।०७९ मा शेयरधनी महानुभावहरुलाई उच्च प्रतिफलको लाभांश वितरण गर्न संस्था सफल हुने कुरामा साधारणसभाले शेयरधनी महानुभावहरुलाई विश्वास दिलाएको छ ।
सभाले विशेष प्रस्ताव अन्तरगत सम्बन्धित निकायको स्वीकृती लिई विभिन्न सेवाहरु संचालन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेकोछ ।
छिटो छरितो तथा ग्राहकमुखि सेवा दिदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने प्रतिवद्धता सो सभामा व्यक्त गरियो । निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, १,०५,००० भन्दा माथि डिम्याट खातालाई सेवा, ९ वटा कम्पनीको शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले सभामा जानकारी दिए ।