नेपालको विद्युत् उत्पादन क्षमता विस्तार गर्ने लक्ष्यसँगै सरकारले अब कस्तो स्रोतबाट कति विद्युत् उत्पादन गर्ने भन्ने रणनीति बदल्ने तयारी गरेको छ। यसको मुख्य कारण आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्नु मात्रै होइन, उत्पादित विद्युत् वर्षभरि समान रूपमा उपयोग गर्न सक्ने ऊर्जा प्रणाली विकास गर्नु पनि हो। अहिलेको उत्पादन संरचनामा नदी प्रवाही जलविद्युत्को हिस्सा ठूलो हुँदा बर्खामा विद्युत् खेर जाने अवस्था र हिउँदमा माग धान्न भारतबाट आयात गर्नुपर्ने अवस्था छ। यही मौसमी असन्तुलन घटाउन सरकारले जलाशययुक्त, अर्धजलाशययुक्त, पम्प स्टोरेज, सौर्य तथा वायु ऊर्जाको हिस्सा बढाउने गरी नयाँ ऊर्जा मिश्रण नीति बनाउन लागेको हो।
ऊर्जा मिश्रण परिवर्तनका मुख्य पाँच कारण
- मौसमी उत्पादन असन्तुलन: नदीको बहावमा आधारित आयोजनाले बर्खामा बढी र हिउँदमा कम विद्युत् उत्पादन गर्छन्। यसले वर्षायाममा निर्यात वा खपत गर्न नसकिएको विद्युत् खेर जाने र हिउँदमा आयात गर्नुपर्ने अवस्था सिर्जना गर्छ।
- जलाशय र ऊर्जा भण्डारणको आवश्यकता: जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाले पानी वा विद्युत् भण्डारण गरेर आवश्यक समयमा आपूर्ति गर्न सक्छन्।
- ३० हजार मेगावाट उत्पादन लक्ष्य: पुरानो १५ हजार मेगावाटको लक्ष्यमा आधारित ऊर्जा मिश्रणले नयाँ उत्पादन लक्ष्य र भविष्यको माग समेट्न नसक्ने भएकाले नयाँ अनुपात आवश्यक भएको हो।
- रोकिएको पिपिए खुलाउने दबाब: १६ हजार ४२५ मेगावाटभन्दा बढी क्षमताका आयोजना विद्युत् खरिद सम्झौताको प्रतीक्षामा छन्। ऊर्जा मिश्रणले कुन प्रकृतिका आयोजनालाई कति हिस्सा दिने भन्ने आधार बनाएर पिपिए प्रक्रिया अघि बढाउन सहयोग गर्नेछ।
- विद्युत् निर्यात र आन्तरिक खपत विस्तार: भारत तथा बंगलादेशमा निर्यात बढाउन र स्वदेशमै विद्युत् खपत विस्तार गर्न वर्षभरि उपलब्ध हुने भरपर्दो विद्युत् प्रणाली आवश्यक छ।
नेपालको ऊर्जा क्षेत्रसम्बन्धी अध्ययनले पनि जलविद्युत्को मौसमी निर्भरता घटाउन सौर्य ऊर्जालाई पूरक स्रोतका रूपमा विकास गर्न सकिने देखाएका छन्। त्यस्तै, विद्युत् नियमन आयोगको भण्डारणयुक्त जलविद्युत् आयोजनाको पिपिए मूल्यसम्बन्धी अध्ययनले नेपालको वर्षायाम र सुक्खायामबीचको उत्पादन अन्तरलाई स्पष्ट पारेको छ।
ऊर्जा मिश्रण किन ? तथ्यांकले देखाएको अवस्था
विद्युत् नियमन आयोगका लागि तयार गरिएको सन् २०२५ को भण्डारणयुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद मूल्यसम्बन्धी अध्ययनले नेपालको ऊर्जा प्रणालीमा रहेको मौसमी असन्तुलनलाई तथ्यांकसहित देखाएको छ।
अध्ययनअनुसार आर्थिक वर्ष २०२२/२३ मा सुक्खायाममा नेपालले भारतबाट १ हजार ८०० गिगावाट घण्टाभन्दा बढी विद्युत् आयात गरेको थियो भने वर्षायाममा १ हजार ९०० गिगावाट घण्टाभन्दा बढी विद्युत् भारत निर्यात गरेको थियो। अर्थात्, एउटै ऊर्जा प्रणालीले वर्षायाममा निर्यात गर्नुपर्ने र हिउँदमा आयात गर्नुपर्ने अवस्था छ।
त्यसैले ऊर्जा मिश्रण परिवर्तनको उद्देश्य उत्पादन क्षमता थप्नुमा मात्र सीमित छैन। कुन समयमा कस्तो स्रोतबाट विद्युत् उत्पादन गर्ने र मागअनुसार कसरी आपूर्ति गर्ने भन्ने विषय यसमा जोडिएको छ।
नयाँ ऊर्जा मिश्रणको संरचना र पिपिएको गाँठो
ऊर्जा मन्त्रालयले तयार गर्न लागेको नयाँ ढाँचामा जलविद्युत्का विभिन्न प्रकृतिका आयोजनासँगै सौर्य र वायु ऊर्जाको हिस्सा पनि निर्धारण हुनेछ। यसले आगामी दशकमा कुन प्रकृतिका आयोजना कति आवश्यक छन् भन्ने आधार दिनेछ।
यसअघि सन् २०१६ को राष्ट्रिय ऊर्जा सङ्कट निवारण नीति तथा विद्युत् विकास दशकले जलाशययुक्त र पम्प स्टोरेज आयोजनालाई ४०–५० प्रतिशत तथा अर्धजलाशययुक्त आयोजनालाई १५–२० प्रतिशत हिस्सा दिने लक्ष्य राखेको थियो। पछि १५ हजार मेगावाट उत्पादन लक्ष्यअनुसार अनुपात परिवर्तन गरियो। २०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा ४०–४५ प्रतिशत पुर्याएपछि त्यसअनुसार पिपिए प्रक्रिया अघि बढेको थियो।
तर पछिल्लो बजेटमा नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था ल्याइएपछि नदी प्रवाही र अर्धजलाशययुक्त दुवै आयोजनाको पिपिए प्रक्रिया प्रभावित भएको थियो। अहिले विद्युत् प्राधिकरणका अनुसार २८१ आयोजना कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पिपिएको प्रतीक्षामा छन्। पिपिए नहुँदा बैंकबाट ऋण जुटाउन र वित्तीय व्यवस्थापन गर्न प्रवर्द्धकलाई कठिनाइ भएको छ।
यस अर्थमा नयाँ ऊर्जा मिश्रण नीति उत्पादनको स्रोत निर्धारण गर्ने प्राविधिक दस्तावेज मात्रै होइन, रोकिएको विद्युत् आयोजना विकासलाई अघि बढाउने नीतिगत आधार पनि हो।
उत्पादन बढाएर मात्रै पुग्दैन
सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि त्यसको उपयोग र बजार सुनिश्चित गर्नु उत्तिकै महत्त्वपूर्ण हुनेछ। आन्तरिक विद्युत् खपत बढाउने, प्रसारण लाइन विस्तार गर्ने र भारत तथा बंगलादेशमा निर्यातको बजार सुनिश्चित गर्ने काम सँगसँगै अघि बढाउनुपर्नेछ।
नेपाल विद्युत् प्राधिकरणको तथ्यांक उद्धृत गर्दै विद्युत् नियमन आयोगको अध्ययनले आर्थिक वर्ष २०८०/८१ मा भारततर्फ १ हजार ९४६ गिगावाट घण्टा विद्युत् निर्यात र १ हजार ८९५ गिगावाट घण्टा आयात भएको देखाएको छ। यसले निर्यात विस्तार भइरहे पनि मौसमी निर्भरता कायमै रहेको देखाउँछ।
नयाँ ऊर्जा मिश्रणले जलविद्युतको सम्भावनालाई निरन्तरता दिँदै जलाशय, पम्प स्टोरेज र सौर्य ऊर्जालाई कसरी पूरक बनाउँछ भन्ने विषय यसको प्रभावकारिताको मुख्य आधार हुनेछ।
नेपालपत्र संवाददाता