शुक्रबार, मंसिर ११ गते २०८३

भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकले जित्यो दुई अवार्ड


मंसिर १०, २०८३ बिहीबार
भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकले जित्यो दुई अवार्ड

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेशनलबाट दुई विधामा अवार्ड प्राप्त गरेको छ । बैंकले कन्ट्याक्टलेस कार्ड जारी गर्ने उत्कृष्टता र ई–कमर्स एक्वायरिङ व्यवसायअन्तर्गत प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो । काठमाडौंमा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

डिजिटल भुक्तानी प्रणालीको विकास, विस्तार तथा ग्राहकलाई सहज र सुरक्षित सेवा उपलब्ध गराउन गरेको कार्यसम्पादनका आधारमा बैंकलाई सम्मान गरिएको हो । अवार्डले नवीन प्रविधिमा आधारित बैंकिङ सेवा विस्तार गर्न थप प्रेरणा मिलेको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताएका छन् । ग्राहकको सुविधा र सहजतालाई प्राथमिकतामा राख्दै डिजिटल बैंकिङ सेवालाई निरन्तर परिष्कृत गर्दै जाने उनले उल्लेख गरेका छन् ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास रहेको नबिल बैंकले हाल २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले परम्परागत बैंकिङ सेवासँगै आधुनिक डिजिटल वित्तीय सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।