शुक्रबार, मंसिर ११ गते २०८३

बैकिङ प्रणालीबाट ४० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक


मंसिर ११, २०८३ शुक्रबार
बैकिङ प्रणालीबाट ४० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक


बैंकिङ प्रणालीमा अधिक तरलता रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट २ महिनाका लागि निक्षेप संकलन गर्न आज बोलकबोल गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको  सूचनाअनुसार दुई महिने निक्षेप संकलन उपकरणका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिनेछ । बोलकबोलबाट ब्याजदर निर्धारण हुनेछ । यसरी संकलित रकमको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गरिनेछ ।

राष्ट्र बैंकले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरेको छ । बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलसमेत पेस गर्न सक्नेछन् । 

यो उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन् । बोलकबोलमा निक्षेप राख्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।