मंगलबार, मंसिर ८ गते २०८३

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्द गर्ने निर्णय संसदीय छानबिनमा


मंसिर ८, २०८३ मंगलबार
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्द गर्ने निर्णय संसदीय छानबिनमा

 

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेर रद्द गरिएको विषयमा संसदीय छानबिन सुरु भएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ठेक्का रद्द गर्नुको आधार र निर्णय प्रक्रियासम्बन्धी कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

आयोजनाको बाँध, विद्युत् गृहलगायत संरचना निर्माणका लागि भएको अन्तर्राष्ट्रिय बोलपत्रमा ६ कम्पनी सहभागी भएका थिए। तीमध्ये तीन कम्पनी प्राविधिक मूल्यांकनमा योग्य भए पनि आर्थिक प्रस्ताव खोल्नुअघि नै ठेक्का रद्द गरिएको थियो।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार नयाँ मूल्यांकन विधि अपनाउनुपर्ने भएकाले पुरानो प्रक्रिया रद्द गरिएको र निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन्।

आयोजनाको १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ मा भए पनि बाँध र विद्युत् गृह निर्माणको काम अघि बढ्न सकेको छैन। आयोजनाबाट मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

समितिको बैठकमा सांसद मनिष झाले आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न माग गरेका छन्। ठेक्का रद्द गर्नुको कानुनी आधार र आयोजनाको बाँकी काम अघि बढाउने योजनाबारे समितिले मागेका कागजात अध्ययनपछि थप छलफल गर्नेछ।