रामपुर पाल्पामा मुख्य कार्यालय रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्थाको २८ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाईगत साधारण सभा अन्तर्गत सेवाकेन्द्र र केन्द्रिय कार्यालयमा आवद्ध सदस्यहरुका लागि रामपुर नगरपालिका ७ डुम्रिगाँउमा २८ औँ साधारण सभा सम्पन्न गरेको हो ।
आधारभूत प्राविधिक माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न २८औं साधारण सभाको समुद्धाटन प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सन्दिप राना तथा संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले सयुक्त रूपमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि रानाले पछिल्ला केही वर्ष यता सहकारी सँस्था बदनाम भइरहेको बेला रामपुर नगरी भित्र रहेका सहकारीले स्वस्छ र पारदर्शिता तवरले सँस्था सञ्चालन भइरहेको भन्दै सम्मान व्यक्त गरे । उनले अन्धकारमुक्ति साकोस लुम्बिनी प्रदेशमा उत्कृष्ट सहकारी बन्न सफल तथा उत्कृष्ट ऋण सहकारी बनेकोमा बधाई ज्ञापन गरेका छन् । सहकारी क्षेत्रको विकास सकारात्मक तरिकाले विकास गर्न सके राष्ट्रको आर्थिक विकास हुने पनि उनको भनाई छ ।
यस्तैगरी कार्यक्रमलाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सरकारको अर्थनीतिको तिन वटा खम्बा मध्ये सहकारी क्षेत्र पनि एउटा खम्बा रहेको उल्लेख गर्दै मुलुकलाई चलायमान र समृद्ध बनाउनका लागि वित्तिय सँस्थाहरु निकै नै चलायमान हुनु पर्ने बताए । वि.स २०५५ सालमा स्थापना भई पाल्पा जिल्लाभर कार्यक्षेत्र वनाई वित्तीय सेवा प्रदान गरीरहेको सँस्थामा २०८३ साल असार मसान्त सम्म आईपुग्दा ११ हजार ८४७ जना शेयर सदस्यहरु रहेका छन् ।

सस्थाले कुल बचत एक अर्ब २६ करोड, कुल ऋण लगानी १ अर्ब ८ करोड, कुल शेयर पूँजी १६ करोड सहित कुल वासलात एक अर्ब ६५ करोड ४१ लाख हज परिचालन गरी खुद नाफा २ करोड ७९ लाख कमाउन सफल भएको छ ।
संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका सदस्य राम प्रसाद ढकालले प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधाहरुमा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत र १६२ जना शेयर सदस्यहरुलाई मासिक पेन्सन भत्ता उपलव्ध गराउदै आईरहेकोमा आर्थिक वर्ष २०८२÷०८३ मा ७० वर्ष पुरा भई मासिक पेन्सन भत्ताका लागि निवेदन प्राप्त ३० जना शेयर सदस्यहरुलाई प्रतिनिधि सभा सदस्य रानाद्धारा दोसल्ला ओढार सम्मान तथा पेन्सन भत्ता वितरण गरिएको थियो ।
त्यस्तैगरी सहकारीले निवर्तमान अन्धकारमुक्ति साकोसका पदाधिकारीहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको थियो ।
कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि लगायत, सेयर सदस्य, पत्रकार सहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मधुसुधन आचार्यले गर्नु भएको थियो ।
एकाईगत साधारण सभा सम्पन्न गरी मंसिर ९ गने हुने निणर्य प्रमाणित सहितको साधारण सभाका लागि प्रतिनिधिहरु छनोट गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
नेपालपत्र संवाददाता