आइतबार, कार्तिक २३ गते २०८३

दीपावली सबै जन समुदायका लागि समानता, न्याय र सद्भावकाे उज्यालाे छर्ने पर्ब बनाेस् ।


कार्तिक २३, २०८३ आइतबार
दीपावली  सबै जन समुदायका लागि समानता, न्याय र सद्भावकाे  उज्यालाे छर्ने पर्ब बनाेस् ।

सबै प्रकारका अन्धकार चिर्दै समानता, न्याय र मानवताको उज्यालो फैलाउने पर्व बनोस् तिहारको दीपोत्सव !

— लोकनारायण सुवेदी

तिहार अर्थात् दीपावली केवल घर–आँगनमा दीप बाल्ने सांस्कृतिक पर्व होइन; यो अन्धकारमाथि प्रकाश, अज्ञानमाथि ज्ञान र निराशामाथि आशाको विजयको प्रतीक हो। यसको वास्तविक सार मानव जीवनमा विवेक, समाजमा समानता र सम्बन्धमा प्रेम तथा सद्भावको उज्यालो फैलाउनु हो।

एउटा दीप बल्न बात्ती र तेलको उचित संयोजन आवश्यक भएझैँ मानव जीवन पनि समाजसँगको सम्बन्ध र सामूहिक हितसँग जोडिएर मात्र सार्थक हुन्छ। संकीर्ण व्यक्तिगत, पारिवारिक वा गुटगत स्वार्थमा डुब्नु र सामाजिक दायित्वबाट विमुख हुनु दुवै गलत हुन्। मानिसको वास्तविक महानता व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको सामूहिक हित र मानव मुक्तिको पक्षमा समर्पित हुनुमा निहित छ।

मार्क्सवादी दृष्टिकोणबाट हेर्दा समाजको अन्धकार केवल अज्ञान र अन्धविश्वासमा मात्र सीमित छैन; यसको जरा शोषण, वर्गीय असमानता, आर्थिक विभेद, गरिबी र अन्यायपूर्ण सामाजिक सम्बन्धमा पनि रहेको छ। त्यसैले हजारौँ दीप बालेर मात्र समाज उज्यालो हुँदैन। जबसम्म प्रत्येक मानिसले शिक्षा, स्वास्थ्य, रोजगारी, सम्मान, स्वतन्त्रता र समान अवसर प्राप्त गर्दैन, तबसम्म वास्तविक दीपोत्सव अधुरै रहन्छ। अन्धकार हटाउने अर्थ त्यसका बाह्य लक्षण मात्र होइन, तिनलाई जन्माउने सामाजिक तथा आर्थिक आधारसमेत रूपान्तरण गर्नु हो।

तिहारमा मिठाई, उपहार र आत्मीयता आदानप्रदान गर्नु, दिदी–भाइ तथा दाजु–बहिनीबीच स्नेह र सम्मान प्रकट गर्नु, पशुपक्षी तथा प्रकृतिप्रति सद्भाव राख्नु र देउसी–भैलोमार्फत सामूहिक संस्कृति अभिव्यक्त गर्नु यसका सुन्दर मानवीय पक्ष हुन्। यिनलाई संरक्षण र समृद्ध गर्दै परम्पराभित्र रहेका अन्धविश्वास, रूढिवाद, विभेद र अमानवीय प्रथाको अन्त्य गर्नु आवश्यक छ। संस्कृति जीवन्त रहन त्यसको प्रगतिशील रूपान्तरण अपरिहार्य हुन्छ।

वास्तविक दीपावली त्यतिबेला सार्थक हुन्छ, जब मानिसको चेतनामा ज्ञान, समाजमा समानता, श्रमको सम्मान, जीवनमा समृद्धि र सम्बन्धमा भाइचारा स्थापित हुन्छ। त्यसैले आउनुहोस्, व्यक्तिगत स्वार्थ र संकीर्णताभन्दा माथि उठौँ; शोषण, अन्याय, विभेद र अन्धविश्वासविरुद्ध चेतनाको दीप बालौँ। मानव मुक्ति, सामाजिक न्याय र समतामूलक समाज निर्माणको संकल्पलाई व्यवहारमा उतारौँ।

सबै प्रकारका अन्धकार चिर्दै श्रम, समानता, न्याय, स्वतन्त्रता र मानवताको उज्यालो फैलाउने पर्व बनोस् तिहारको दीपोत्सव !

तिहार, दीपावली तथा भाइटीकाको हार्दिक शुभकामना !