शुक्रबार, मंसिर ११ गते २०८३

सदस्यको बचतको सुरक्षालाई केन्द्रमा राखेर सहकारी कानुन बनाउनुपर्छ : सांसद पौड्याल


मंसिर १०, २०८३ बिहीबार
सदस्यको बचतको सुरक्षालाई केन्द्रमा राखेर सहकारी कानुन बनाउनुपर्छ : सांसद पौड्याल

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सांसद ज्ञानु पौड्यालले सहकारीका सदस्यहरुको हित हुने गरी ऐन नियम बनाउनुपर्ने बताएकी छिन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको ‘सहकारी कानुन सुधार’का सम्बन्धमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले सञ्चालकले आफुलाई समेत शेयर सदस्यको रुपमा सम्झेर निर्णय गर्दा संस्थामा कुनै समस्या नआउने उल्लेख गरिन् । नियतवश सदस्यको बचत दुरुपयोग गर्नु भनेको आर्थिक अपराध भएको भन्दै उनले राज्यले यस्ता सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन् ।

सरकारले सहकारी पीडितलाई सम्बोधन गर्न अदालती प्रक्रियादेखि सिआइबी र जिल्ला प्रशासनहरु समेतको सहयोगमा फाष्ट ट्रयाकमा अगाडि बढाएको सांसद पौडेलले जानकारी दिइन् । ऐन बनाउने क्रममा उत्पादनको क्षेत्रमा काम गर्ने सहकारीका हकमा ऐन वा कार्यविधि कहाँ सम्बोधन गर्ने भनेर छलफल गर्न आवश्यक रहेको उनले बताइन् ।  

विश्वका कतिपय मुलुकमा थोरै सहकारीबाट धेरै राम्रो काम भएको भन्दै उनले ३१ हजार सहकारी मुलुकमा आवश्यक नभएको जनाइन् । सहकारीले कोष बनाउने होइन, परिचालन गर्नु पर्ने उनको भनाई छ । सहकारी मर्जमा जानुपर्ने र त्यसका लागि कानुनमा नै सम्बोधन गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् । सहकारी अहिले ट्रान्जिसनको फेजमा रहेकाले राज्य र अभियान मिलेर समस्या समाधान गर्न आवश्यक रहेको उनले औंल्याइन् । नयाँ ऐन बनाउन सबैको सुझाव आवश्यक रहेको र सोही अनुसार सुझाव दिन उनको आग्रह छ । 

बर्षौदेखि सहकारीका विषयमा छलफल हुने गरेको भए पनि यो पटकको छलफल भने फरक भएको उनले बताइन् । सहकारीबाट पीडित बनेका बचतकर्तालाई समेत सम्बोधन गर्ने गरी ऐन ल्याउनुपर्ने भन्दै विभिन्न प्रकृतिका सहकारी भए पनि उनले बचत तथा ऋणको मुख्य कारोबारलाई थप सुरक्षित गर्ने कानुन आवश्यक रहेको उल्लेख गरिन् । ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई बलियो संरचनाको रुपमा विकास गरी बचत ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुलाई प्राधिकरणबाट र अन्य प्रकृतिक सहकारी संस्था जसले उत्पादन र रोजगारीको क्षेत्रमा काम गरिरहेका छन्, ती सहकारीलाई फरक ऐनबाट नियमन गनुपर्ने हामीले महशुस गरिराखेका छौं’ उनले भनिन् । 

वित्तीय सहकारी सञ्चालन गर्न सञ्चालकको फिट एण्ड प्रपर टेष्टसँगै ज्ञान, सीप र क्षमता आवश्यक पर्ने उनको भनाई छ । मुलुकमा दुग्ध, कृषि, बहुउद्देश्यीय लगायत विभिन्न प्रकृतिका सहकारी संस्था रहेको र ती सहकारीले उत्पादन र बजारीकरणमा समेत टेवा दिएकाले ती सहकारीको हकमा फरक कानुन आवश्यक रहेको उनको तर्क छ । सरकारले सहकारी मार्फत् नै रोजगारी सृजना गर्ने लक्ष्य लिएको र त्यसलाई पुरा गर्ने गरी सहकारीले काम गर्नुपर्नेमा उनको जोड छ । ३१ हजार सहकारीमा करिब १ करोड बढी जनसंख्या आवद्ध रहेको भन्दै उनले यो नेटवर्कलाई प्रयोग गर्न सके मुलुकको समृद्धि सम्भव भएको उनको भनाई छ ।

संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको र त्यसलाई पुरा गर्ने दिशामा सहकारी लागेको भए समस्या नआउने उनले प्रष्ट पारिन् । सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै स्वः नियमनमा सञ्चालन नहुँदा अहिले समस्या आएको उनको तर्क छ । समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयले २२ वटा सहकारी संस्थाको समस्या समाधान गर्न नसकिरहेको अवस्थामा अन्य प्रदेशमा समेत बचत फिर्ता गर्न नसक्ने सहकारीको संख्या बढ्दै गएको गुनासो आफूले पाएको उनले सुनाइन् । समस्या जताततै रहेको भन्दै त्यसबाट आफुहरु भाग्न नमिल्ने उनले उल्लेख गरिन् ।