बर्दिया। सिको बचत तथा ऋण सहकारी संस्थाले आगामी चार वर्षको स्पष्ट कार्यदिशा तय गर्दै तेस्रो चारवर्षे रणनीतिक योजना तर्जुमा गरेको छ। यहि श्रावण २३ र २४ गते आयोजित ‘तेस्रो ४ वर्षे रणनीतिक योजना, २०८२।०८३ को वार्षिक समीक्षा, कर्मचारी कार्यविवरण हस्तान्तरण तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रममार्फत संस्थाले आगामी दिनमा अझ सुदृढ, प्रविधिमैत्री र सदस्यकेन्द्रित सहकारीका रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको हो।
कार्यक्रममा संस्थाको आगामी चार वर्षका लागि स्पष्ट लक्ष्य, प्राथमिकता र परिदृश्य निर्माण गर्दै रणनीतिक योजना तर्जुमा गरिएको थियो। रणनीतिक योजनाले संस्थाको दीर्घकालीन विकाससँगै सदस्यको आवश्यकता र सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा तथा गतिविधिलाई थप प्रभावकारी बनाउने आधार तय गरेको अध्यक्ष दामोदर अधिकारीले बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०८२।०८३ मा संस्थाले गरेका काम, उपलब्धि र सामना गरेका चुनौतीहरूको मिहीन रुपमा समीक्षा गरिएको थियो। विगतको कार्यसम्पादनबाट प्राप्त सिकाइका आधारमा आगामी कार्यदिशा तय गर्दै संस्थागत लक्ष्य हासिल गर्न आवश्यक सुधार तथा प्राथमिकताका विषयमा छलफल भएको उनले बताए। कार्यक्रममा उपलब्धिको समीक्षा मात्र नभई आगामी यात्रालाई थप व्यवस्थित र परिणाममुखी बनाउने आधार तयार गरेको समेत उनको भनाई छ ।

त्यसैगरी, संस्थागत सुशासन र कर्मचारीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कर्मचारीहरूलाई नयाँ कार्य विवरण हस्तान्तरण तथा व्यवस्थापन अभिमुखीकरण प्रदान गरिएको थियो। कार्यक्रममा समिति र कर्मचारीबीच आपसी समन्वय, विश्वास र जिम्मेवारीलाई बलियो बनाउँदै संस्थाको सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने विषयमा जोड दिइएको थियो। साकोसलाई प्रविधिमैत्री, सक्षम र सदस्यको अपेक्षाअनुसार सेवा दिने संस्थाका रूपमा विकास गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
साकोसले बलियो टिमवर्क, आपसी विश्वास, अनुशासन र सदस्यहरूको निरन्तर सहयोगलाई संस्थाको सफलताको प्रमुख आधार मानेको छ। रणनीतिक योजना, वार्षिक समीक्षा र कर्मचारी अभिमुखीकरणले संस्थाको आगामी यात्राका लागि साझा दृष्टिकोण र उच्च मनोबल निर्माण गरेको जनाउँदै संस्थाले दिगो विकास र सदस्य सन्तुष्टिका लागि थप प्रभावकारी रूपमा अघि बढ्ने जनाएको छ। संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपालपत्र संवाददाता