दक्षिण अफ्रिकाबाट कोरोनाभाइरसको अत्यधिक उत्परिवर्तन क्षमताको ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिम बढेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको । त्यस लगत्तै विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन्।
नेपालले दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारन्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वारन्टीन अनिवार्य गरेको छैन। विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजन परीक्षण गर्ने गरिएको छ।
यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो। हालसम्म ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ। कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्।
हङकङसँग सिधा हवाई उडान रहेको नेपालले उडान स्थगित गर्ने वा नगर्नेबारे कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकबाट निर्णय गर्ने भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सुरुमा B.1.1.529 नाम दिइएको भेरिअन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सङ्क्रमण बढी रहेको पाइएको जनाएको थियो।
वैज्ञानिकहरूले यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेका बेला उसले यो नयाँ भेरिअन्टको प्रभाव बुझ्न केही हप्ता लाग्ने जनाएको छ।