शनिबार, कार्तिक ८ गते २०८३

त्यो लठ्ठी मलाई नदेखाउनुस्, लठ्ठी देखाएर म तर्सिन्न : राममाया च्यामिनी


चैत्र २१, २०८२ शनिबार
त्यो लठ्ठी मलाई नदेखाउनुस्, लठ्ठी देखाएर म तर्सिन्न : राममाया च्यामिनी
नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यानको बाजी लगाएर कठोर संघर्ष गरेका पात्रहरूलाई त आज पनि धेरैले चिन्दछन् । तर यस्ता पात्रहरू पनि थिए, जसको असाधारण र निस्वार्थ योगदानको न्यायोचित मूल्याङ्कन भएन । ती पात्रहरू उपेक्षा र अन्यायको अन्धकारमा हराईरहेका छन् । २०६२–६३ मा ‘जनआन्दोलनकी आमा’ भनिएकी ८४ वर्षीया स्व. छायाँदेवी पराजुली, १० वर्षे बालक रुबिन गन्धर्भजस्ता ऐतिहासिक पात्रहरूलाई खोज्दै जाँदा अनगिन्ती भेटिनेछन् ।
 
यस्ता पात्रहरूको वीरता, योगदान र पौरख खोज्नु मेरो सौख नै होला ! त्यस्तै, १९९७ सालपछि राजबन्दीहरूबाट चर्चामा आएकी, राणा शासनको अन्त्यको लागि समर्पित सहयोगी राममाया च्यामिनी पनि अविष्मरणीय पात्र हुन्, जसको योगदान बन्दनीय र अभिनन्दनीय छ, र आजको स्वतन्त्रता खुल्न पाएको छ ।
 
राममाया हाल रेडियो नेपाल (सिंहदरबारभित्र) को राणाकालीन घर (राणा परिवारका केटाकेटीको स्कूलघर) मा सर–सफाईको काम गर्थिन् । उनलाई सिपाहीहरूले छाडा कुरा गरेर जिस्क्याउँथे । २ कात्तिक १९९७ मा पक्राउ गरेर ल्याइएका कतिपय प्रजातान्त्रिक योद्धाहरूलाई सोही स्कुलघरमा राखिएको थियो । त्यही घरमा बन्दी बनाईएका युगकवि सिद्धिचरण श्रेष्ठले २०४४ सालको मधुपर्क (पूर्णाङ्क २२५) मा राममायाकै नाम शीर्षकमा संस्मरण लेखेका छन्, जसअनुसार उनी त्यो बेला २४–२५ वर्षकी थिइन्, भन्नाले राममायाको जन्म वि.सं. १९७२ तिर हुनुपर्छ।
 
युगकविको संस्मरणले भन्छ, “एउटा हातमा कुचो र अर्को हातमा बोरा लिएर सफा गर्न आएकी उनलाई देख्दा हाम्रो निगरानीमा रहेका पार्श्व दलका सिपाहीहरू र आठपहरियाहरू (उच्छृङ्खल शैलीमा) जिस्कन्थे । प्रत्युत्पन्न मति भएकी राममाया उनीहरूसित जिस्केर त्यही मौकामा हामीसित यताउतीका दुई–चारवटा कुरा चुहाएर जान्थिन् । त्यति मात्र होइन, हामी र अरु विभिन्न साथीहरूको घरको खबर पनि ओसारपसार गर्थिन् । ती बन्दीहरूको परिवारका सदस्यहरूले सिंहदबारको ढोकामा उनैलाई कुरिरहेका हुन्थे । उनीहरू बन्दी अवस्थामा रहेका आफ्ना परिवारका सदस्यलाई पिटे नपिटेको बारे पनि जिज्ञासा राख्थे” (श्रेष्ठ, २०५२ : १) ६) ।
“सिपाहीहरूले हामी र उनीप्रतिको कुरा थाहा पाए भने उनलाई के–कस्तो सजाय हुने हो भन्ने कुरा पनि उनलाई थाहा थियो । एकातिर हामीलाई खबर सुनाएर हामीलाई मद्दत गर्नु छ भने अर्कोेतिर आफूमाथि कटाक्ष हेर्ने सिपाहीहरूसित उनीहरूको मनलाई लठ्याउने कुरा पनि गर्नुपर्थ्यो । यो कलामा उनी निपुण थिइन् ।”“....उनलाई त्यहाँ खटिएका अफिसर तथा सिपाहीहरू चेतावनी दिँदै राजनीतिक बन्दीहरूबारे भन्थे, “यिनीहरू डरलाग्दा हुन्, यिनीहरूसित नचाहिँदा कुरा नगर्नू, जिब्रो थुत्लान्” (श्रेष्ठ, २०५२ : १) ४–५) । उनले पनि त्यहाँ कार्यरत सिपाही, आठपहरिया र अन्य स्टाफहरूलाई पचाईसकेकी रहिछन् । एकदिन एक सिपाहीले उनीमाथि लठ्ठी उठाउँदै नेवार भाषामा रिसाएजस्तो ठट्टामा केही भनेछ । जवाफमा उनले पनि मातृभाषामै जवाफ फर्काएको, माथि उल्लेखित वाणीले राजबन्दीहरूको मन छोएको रुपमा चर्चित भएछ, “व कठि जितः क्यने मते, व कठि क्यना जि ग्याय् मखुः सिपाहीयागु कठिं जुजुया शत्रु जकः बडे यानाच्वंगु दु.....।”
 
धेरै लामो समयपछि कवि सिद्धिचरण २०४३ कात्तिक ८ गते कवि दुर्गालालका साथ राममायालाई भेट्न विष्णुमतिको पुलपारी डल्लु जाने बाटो, धुम्बाहाख्यो भन्ने ठाउँमा उनको डेरामा पुगेका थिए । त्यसबेला कुराकानीमा पनि राममाया जेलमा बन्दी अवस्थामा रहेका क्रान्तिकारी र मृत्युदण्ड पाई शहीद भएकाहरूलाई सम्झँदै, रुँदै, भक्कानिँदै र आँसु पुछ्दै गरेकी हुन्थिन् ।.....सिद्धिचरणले राममायालाई “दशरथले आफू मारिएमा आफ्नो लागि रोइदिने कोही नभएकोले तपाईंलाई एकछिन भए पनि रोइदिनु है भनेको साँच्चै हो ?” भनेर जिज्ञासा राखे ।
 
सिद्धिचरणको यस्तो जिज्ञासा आएपछि राममायाको आँखा भरिएर आयो । नियमित रूपमा बन्दीहरू राखिएको स्थानमा सरसफाइका क्रममा जाँदा राममायालाई दशरथले भनेका थिए, “यहाँ मेरा साथीहरूको त घर छ, तर मेरो घर पुग्नलाई महिना लाग्छ । मेरो लागि रुने कोही छैन राममाया, तिमी दाइ दशरथ भनेर एकछिन भए पनि रोइदिनू है !” दशरथबाट यस्तो सुनिसकेपछि तत्कालै राममाया रुन थालेकी थिइन् । दशरथले उनी रोएको देखेर उनलाई नरुन र रोए राणाहरूले आफ्नै जस्तो गति पारिदेलान् भनी सम्झाएका थिए । दशरथ चन्दहरू मारिएपछि उनले सपनामा पनि उनीहरूलाई देखिरहिन् । महिनौँसम्म खान पनि मन लागेन । विगतका यी स्मृतिमा डुब्दाखेरि राममाया आँसु पनि पुछ्दै जान्थिन् (श्रेष्ठ, २०६२ : १) ५–७) ।
------------------
स्रोत : शीलापत्र अनलाईन पत्रिका, १६ माघ २०८२ मा विराट अनुपम र उकालो अनलाईन पत्रिका, १३ माघ २०८२ मा राजकुमार दिक्पालका लेखका अतिरिक्त अन्य सामग्रीको आधारमा ।